पक्राउ परेका बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद

पक्राउ परेका बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद

काठमाडौँ । आफूलाई 'लिटल बुद्ध' दाबी गर्ने रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद भएको सीआईबीका एक उच्च अधिकारीले बताए ।

त्यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको अधिकारीले बताए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको थियो । सीआईबीको टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट १८ दिनको रेकीपछि मंगलबार पक्राउ गरेको थियो । 

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।

सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा २५ जनाको टोली उनको खोजीमा खटिएको थियो ।  सोही टोलीले उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । 

आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए ।

उनलाई निकै मेहनेतपछि पक्राउ गर्न सफल भएको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । बम्जनले आफूलाई काठमाडौंमा खोजिरहेको थाहा पाएका थिए । सोही कारण उनी लुकेर बसेको घरबाट बाहिर निस्किएका थिएनन् ।