माघीको अवसरमा राष्ट्रपतिको सन्देश-चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन् : राष्ट्रपति

माघीको अवसरमा राष्ट्रपतिको सन्देश-चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। 

माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने बताए। 

‘यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ।

‘हाम्रा धेरै पर्वहरू प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्। नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपरदछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ,’ उनले सन्देशमा उल्लेख गरेका छन्।