विद्युत सुचारु हुन अझै एक साता बढी समय लाग्ने

विद्युत सुचारु हुन अझै एक साता बढी समय लाग्ने

धनगढी : गत बिहिबार राती आएको हावाहुरीका कारण कैलाली, कञ्चनपुरमा अवरुद्ध विद्युत अझै सुचारु हुन सकेको छैन । हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल टुट्दा कैलाली कञ्चनपुरबासी विद्युत सेवाबाट बञ्चित बनेका हुन् । कैलाली, कञ्चनपुरमा १३ सय बढी पोल ढलेका छन् भने १० टा«न्सफरमरमा क्षती भएको छ ।

धनगढी, अत्तरिया लगायतका बजार क्षेत्रमा आंशिक रुपले विद्युत सुचारु भए पनि सबै ठाँउमा विद्युत सुचारु हुन अझै १० दिन लाग्ने प्राधिकरण कार्यालयले जनाएको छ । गत बिहिवारको हावाहुरीका कारण अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा सर्वसाधारण भने मर्कामा परेका छन् ।

उखरमाउलो गर्मीमा विजुली नहुँदा सर्वसाधारण मात्रै होइनन् व्यापार व्यावसाय र विभिन्न कार्यालयहरुको सेवा पनि ठप्प भएको छ ।

बिजुली नहुँदा व्यापार नै चौपट परेको धनगढीका एक जना व्यापारी दिपक भुमीले गुनासो गरे । टिनले छाएका विद्यालयका विद्यार्थीहरुको अवस्था झनै वेजोग छ । बिजुली नहुँदा कतिपय विद्यार्थी विद्यालयमै बेहोस हुने गरेका शिक्षक राजेन्द्र बिष्टले बताए ।

हावाहुरीका कारण कैलालीमा मात्रै ७ सय पोल ढलेका नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । क्षतिको विवरण संकलन र मर्मतको काम भइरहेकाले विद्युत सञ्चालनमा ढिलाइ भएको जनाईएको छ ।

यद्यपी धनगढी अत्तरिया लगायतका बजार क्षेत्रमा भने आइतवारबाट विद्युत सुचारु भइसकेको अत्तरिया कार्यालय प्रमुख सतिश कुमार कर्णले बताए । क्षति पुर्याएको सबै ठाउँमा बिजुली सुचारु हुन १० दिनसम्म लाग्ने उनको भनाई छ ।