बालिका गर्भवती भएपछि सामूहिक बलात्कार घटना सार्वजनिक, पाँचजना पक्राउ

बालिका गर्भवती भएपछि सामूहिक बलात्कार  घटना सार्वजनिक, पाँचजना पक्राउ

काठमाडौँ । मुगुमा १४ वर्षीया बालिका गर्भवती भएपछि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । ती बालिका गत भदौमा बलात्कृत भएकामा पेट दुख्न थालेपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा गर्भमा बच्चा रहेको खुलेको हो । 

त्यसपछि बालिकाले दुईपटक सामूहिक बलात्कार भएको भनी प्रहरीमा दुईवटा छुट्टाछुट्टै किटानी जाहेरी दिएपछि पाँचजना पक्राउ परेका छन् । मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार ६ बालक र तीन युवक गरी नौजनाविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरी परेपछि अनुसन्धान थालिएको हो । 

प्रहरीले छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया र तीन बालक गरी पाँचजनालाई पक्राउ गरेको छ । कृषि विकास कार्यालय गमगढीका सवारीचालक ३० वर्षीय पदमबहादुर कठायत र बाँकी तीन बालक फरार छन् । उनीहरूको खोजी भइरहेको डिएसपी थापाले बताए ।

प्रहरीका अनुसार बालिकामाथि १४ वर्षका ती बालकले १६ भदौमा बलात्कार गरेका थिए । त्यसपछि वसन्त कार्की, वसन्त रोकाया र पदमबहादुर कठायतले १० असोजमा बलात्कार गरेको पीडितले प्रहरीमा बयान दिएकी छिन् । पेट दुख्न थालेपछि परिवारजनले बालिकालाई जिल्ला अस्पताल मुगु पुर्‍याएका थिए । र, उनको गर्भमा बच्चा रहेको पाइएको हो । 

प्रहरीका अनुसार गत असोजमा वसन्तबहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर कोठामा लगेका थिए । त्यहाँ वसन्तद्वय र पदमले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आफूलाई विभिन्न प्रलोभन, डर–त्रास देखाई पालैपालो बलात्कार गरेको पीडितले बयान दिएकी छिन् । त्यसअघि १४ वर्षका किशोरहरूले १६ भदौ बेलुका आफ्नो कोठामा भेट्न बोलाएर राति बलात्कार गरेका थिए । 

छायानाथ रारा नगरपालिका घर भएकी बालिका सदरमुकाम गमगढीस्थित डेरामा बसेर कक्षा सातमा पढिरहेकी थिइन् । बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ । नयाँ पत्रिकाबाट