हुरीले बिजोग : त्रिपालसम्म पाएनन् पीडितले

हुरीले बिजोग : त्रिपालसम्म पाएनन् पीडितले

धनगढी : धनगढी उपमहानगरपालिका–१ की राजकुमारी चौधरीको बास पाँच दिनयता खुला आकाशमुनि छ। टिनले छाएको दुईकोठे घरको छानो बिहीबारको हुरीले उडाएपछि दुई वर्षकी छोरीसहित उनको दैनिकी कष्टकर बनेको छ।

‘कसैले त्रिपालसमेत दिएको छैन। कोही चिउरा ल्याएर पनि आएको छैन’, उनले भनिन्, ‘घरभित्रका सबै अन्न पानीले भिजाएको छ। श्रीमान् पसलमा काम गर्ने भएकाले बजारबाट नयाँ अन्न किनेर खाइरहेका छौं।’ पाँच दिनदेखि बिजुली नआएको र सारीको छत बनाएर छोरी सुताउने गरेको उनले सुनाइन्। धनगढीमा दिनहुँ ४० डिग्रीभन्दा बढी तापक्रम पुग्छ।

‘चुनावका बेला भोट माग्न नेताहरू गाउँभरि आएका थिए’, उनले भनिन्, ‘पाँच दिन भयो, कोही पनि कस्तो समस्या छ भनेर सोध्न आएका छैनन्। छिमेकमा छत हालेको नयाँ घर बनिरहेको छ। राति सुत्न त्यहाँ जान्छौं।’ राति शीतल भए पनि लामखुट्टेले टोकेर हैरान बनाउने गरेको उनले बताइन्।

यही वडाकी सीता कोलीको पनि हालत उही छ। उनको घरको छानो हुरीले उडायो। ‘खाना पकाइरहेका बेला वितण्डा मच्चायो, फल्याकवाला खाट भएकाले सबै जना त्यसमुनि गएर बाच्यौं’, उनले भनिन्, ‘खाटमाथि इँटा खसिरहेका थिए। छानो छर्लंग आकाश देखिने भएको छ।’ जस्ता किन्न २०–२५ हजार रुपैयाँ चाहिने उनले सुनाइन्। ‘मजदुरी गरेर खाने मान्छे, कहाँबाट ल्याउने ? ’, उनले भनिन्। घर सग्लै रहेका छिमेकीबाट खानेकुरा मागेर खाइरहेको उनले बताइन्।

धनगढी ओमशान्ति टोलका भीमबहादुर आउजीका दुई भाइको टायल भएको घर, भान्सा र गोठ हुरीले उडायो। तीनै घरका टायल एकत्रित गरेर ओत लाग्ने बनाएको उनले बताए। ‘आधाभन्दा बढी टायल उडाएर लग्यो, अब जस्ता लगाउनुको विकल्प छैन तर सरकारले केही पनि दिएन’, उनले भने, ‘दलित त भोट बैंक न हुन् नेताका लागि। विपत्ति परेका बेला को आउँछ ?।’

वडा नम्बर ६ का चतुर्भुज चौधरीको परिवार पनि आकाशमुनि बस्न बाध्य छ। ‘यो देशमा तीनवटा सरकार छन् भन्छन्’ उनले भने, ‘तर, हामीले सरकार देख्न र महसुस गर्न पाएका छैनौं।’

कनरीका ७५ वर्षीय पञ्चराम चौधरीका चार छोराको घरहुरीले पूर्णरुपमा क्षतिग्रस्त छ। छोराहरूका परिवारको बिचल्ली देखेर पञ्चराम चिन्तित छन्। ‘एउटालाई मात्र समस्या परेको भए अरू भाइले सहयोग गर्थे’, उनले भने, ‘चारै जना समस्यामा छन्। कसले सहयोग गर्ने ? ’

वडा नम्बर २ सन्तोषी टोलका धर्मराज ओझाले आफन्तको घरमा सहारा लिएर बसेको बताए। ‘हुरीले छानो उडाएको पाँच दिन भइसक्यो। राहतका नाममा एउटा त्रिपाल मात्रै आएको छ’, उनले भने, ‘खान–लाउन केही बाँकी राखेन। सपरिवार आफन्तको शरणमा बाँचिरहेका छौं।’

धनगढीका वडा नम्बर २, ६, ७, १०, १२, उर्माको बेली, पटेला, पथरी, कनरी, बेली आसपास हुरीले वितण्डा मच्चाएको थियो। घरको छाना र भित्ता उडाएर लगेपछि अधिकांश परिवार खुला आकाशमुनि रात बिताउन बाध्य छन्। नवजात शिशु र सुत्केरी सबैभन्दा बढी समस्यामा परेका छन्।

कैलालीमा २ हजार २ सय १६ घरधुरी हुरीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घर पूर्णरूपमा क्षति भएका प्रभावितलाई त्रिपाल वितरण गर्ने कार्य र्भरहेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हुरीप्रभावित क्षेत्रमा सरकारी प्रतिनिधि पुगेको बताए। उनले मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई डेढ लाख, पूर्णरुपमा घर क्षति भएकालाई २० हजार र आंशिक क्षति भएकालाई १० हजार रकम तत्काल दिने निर्णय भएको सुनाए।

अन्नपूर्ण बाट