सडक छेउमा बाक्लो बस्ती

सडक छेउमा बाक्लो बस्ती

बाजुरा : बाजुराको उत्तरी क्षेत्रका बासिन्दा सडक छेउमा बसोबास गर्न थालेका छन्। कर्णाली करिडोर सञ्चालनमा आएपछि सडक छेउमा बस्नेहरुको लहर बढेको हो। विभिन्न व्यवसाय गर्न सकिने भएकाले स्थानीयहरु तल सर्न थालेका हुन्। व्यवसाय गर्न सहज हुने भएकाले बसाई सरेको जगन्नाथ गाउँपालिका–५ की मन्जली बिष्टले बताइन्।

हाँको पिलुचौरबाट १ सय ५० परिवार बसाई सरेका छन्। गाँउपालिका अध्यक्ष कालीबहादुर शाहीले सुविधाका लागि पनि बसाई सर्ने क्रम बढिरहेको सुनाए। ‘खडेरीले उब्जनी हुँदैन्, जहाँ पनि किनेरै खानुपर्ने हुन्छ, बोकेर लिनु भन्दा सडक छेउमै आएर बसोवास गरेको हो,‘ हिमाली गाँउपालिका–५ बाधुका मन सार्कीले भने।

पिलुचौर, जुड्डि हिमाली गाउँपालिकाको बाधु, धुलाचौर, लेब्डी, कवाडी लगायत स्थानमा बसाई सरेर तल झरेका हुन्। नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोरको काम २०७१ चैतदेखि सुरु भएको हो। बाजुरा, कालिकोट र हुम्ला जोड्ने सडक १ सय ४५ किलोमिटर निर्माण हुनेछ। १ सय ७ किलोमिटरसम्म अहिले निर्माणको काम भइरहेको छ। ७२ किलोमिटरमा यातायात सञ्चालनमा आइसकेको नेपाली सेनाका उप सेनानी शंकर सिलवाले जानकारी दिए।

बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल निर्माण कार्य सम्पन्न हुने वित्तिकै सडक यातायातले हुम्ला छुने छ। सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ । बाजुराको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई सडक निर्माणको गतिले आशा पलाएको नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए।

अन्नपूर्ण बाट