सुनको मूल्य आकाशियो, विक्री गर्ने बढे

सुनको मूल्य आकाशियो, विक्री गर्ने बढे

विगत एकसाता अघिदेखि सुनको मूल्य आकाशिदै गएको छ । व्यवसायीहरुका अनुसार एकसातादेखि सुनको मूल्य दैनिक २०० रुपैयाँदेखि १ हजार सम्म बृद्धि भइरहेको छ ।

यसअघि सुनको मूल्यमा उत्तारचढाव आएतापनि हाल आएर निरन्तर उकालो लागिररहेको छ । अन्तरराष्ट्रिय व्यापार, शेयरमार्केट, अन्तरराष्ट्रिय बजारमा डलरको प्रभाव घट्दै जानु र ब्रेक्जिटको कारणले सुनको मूल्य आकाशिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य चीन र अमेरिकाको व्यापारीक द्वन्द्वका कारण सुनको मूल्य लगातार बृद्धि भइरहेको बताउंँछन् । ‘चाइना र अमेरिकाको व्यापारिक द्वन्द्व चलिरहेको छ’, उनले भने, ‘ जवसम्म यो समाधान हुँदैन तबसम्म बढिरहन्छ ।’

उनका अनुसार अन्तरराष्ट्रियस्तरमा डलर कमजोर हुँदै जानु र घरजग्गा कारोबारमा गिरावट आएका कारण सुनको मूल्य बलियो हुँदै गएको हो ।

‘एक त शेयर मार्केट पनि डाउन स्ट्रेनमा छ, यस्तो बेलामा मानिसले सुन किनेर सम्पत्ति संचय गर्न खोच्छ’,उनले भने ।  महासंघका उपाध्यक्ष विपिन रामुदामु बजेट भाषणपछि नै सुनको मूल्य लगातार बृद्धि भइरहेको बताउंँछन् ।

‘सुनको मूल्य १५ गते देखि नै बृद्धि भएको छ, सरकारले पनि प्रतितोला रू.१ हजार भन्सार बढाएको छ ।’ उनका अनुसार एकसाता अघि रू. ५८ हजार आसपासमा विक्री भइरहेको सुन अहिले ६३ हजारको हाराहारीमा छ ।

अन्तरराष्ट्रिय बजारमा यसको मूल्य बढ्दै जांँदा प्रत्यक्ष प्रभाव नेपालमा पर्न गएको उनको भनाई छ । सुनचांँदी व्यवसायी संघका चितवन अध्यक्ष जीवनज्योति विश्वकर्मा सुनको मूल्य निरन्तर बृद्धि हुंँदा विक्री पनि कम हुँदै गएको बताउंँछन् । ‘सुनको मूल्य निरन्तर बृद्धिले ग्राहक र व्यवसायी दुबैलाई घाटा परेको छ’, उनले भने । केही दिन अघिसम्म व्यापार सन्तोषजनक भएपनि मुल्य बृद्धिका कारण ग्राहकहरु पसलमा कम आउने गरेको उनले बताए ।

किन्ने भन्दा विक्री गर्ने बढे

सुनको मूल्य निरन्तर उकालो लागिरहंँदा चितवनका स्थानीय बजारमा गहना किन्न आउने भन्दा बढी विक्री गर्न आउने ग्राहकहरु बढ्दै गएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका चितवन अध्यक्ष जीवनज्योति विश्वकर्मा गतहप्ता देखि सुनको मुल्यमा बृद्धि भएसँगै गहना किन्न आउनेको संख्यामा कम भएको बताउँछन् । ‘बैशाख र ज्येष्ठ बिहेको सिजन थियो, गहना किन्नेको संख्या ठीकै थियो’, उनले भने, ‘तर लगन पनि सकिदै जानु र सुनको मूल्इ बृद्धि हुँदै गएपछि ग्राहकको संख्यामा कमी आएको हो ।’

सुनको मूल्य बृद्धि हुँदै जानु र सुनको लागि ग्राहकको क्रय क्षमता घट्दै जानुको कारणबाट पनि गहना बनाउने ग्राहकको संख्या घट्दै गएको हो । जसका कारण सुनको मूल्य बृद्धि हुँदै गएपछि पहिले किनेर लगेका आफ्ना गहनाहरु बेच्न आउने ग्राहकहरु उत्तिकै रहेको जय सन्तोषी माँ सुनचाँदी पसलका सञ्चालक रुवीन रामुदामु बताउँछन् ।

‘एक त गहना किन्न आउने संख्या अत्यन्त न्यून छ, अर्को कुरा सुनको मूल्य दैनिक बढिरहेको छ’, उनले भने । गहना बेच्न नारायणगढको एक पसलमा आएकी भरतपुर महानगरपालिका,२१ की चिनीमाया सापकोटाले भनिन्, ‘सुनको मूल्य बढेको भन्ने सुनें, अहिले विक्री गर्छु । ’ उनले रू. ५४ हजार तोलामा किनेर लगेको तर हाल बढेर ६३ हजार पुगेको बताइन् ।