गोरखापत्र र सुदूरपश्चिम विश्वविद्यालयबिच सहकार्य

गोरखापत्र र सुदूरपश्चिम विश्वविद्यालयबिच सहकार्य

काठमाडौं । गोरखापत्र संस्थान र सुदूरपश्चिम विश्वविद्यालयबिच शैक्षिक विकासका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

संस्थानमा शुक्रबार आयोजित कार्यक्रममा संस्थानका व्यापार विभाग प्रमुख गंगाबहादुर पन्थी र विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले सो पत्रमा हस्ताक्षर गरे। 

संस्थानले सो विश्वविद्यालयका पत्रकारितासम्बन्धी प्रयोगात्मक परीक्षा, इन्टर्नसिप तथा विश्वविद्यालयका रचनात्मक कार्यको समाचार एवम् सूचना प्रवाह गरेर सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ । 

सो विश्वविद्यालयको केन्द्रीय कार्यालय सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा अवस्थित छ । 

‘शिक्षाको अधिकार र योग्य विद्यार्थीको उच्च शिक्षाको पहुँच’ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै सुदूरपश्चिम विश्वविद्यालयले मानविकी तथा सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन, विज्ञानलगायत छवटा सङ्कायमार्फत स्नातक र स्नातकोत्तर तहमा विविध शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै आएको छ । 

यसैगरी, प्रविधि, इन्जिनियरिङ र कृषि विषयलाई विश्वविद्यालयले सेमेस्टर शैक्षिक क्यालेन्डर लागू गरेको छ । यस्तै, विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर तह तथा दर्शनाचार्य (एमफिल) र विद्यावारिधि (पिएचडी) अनुसन्धान डिग्री सुरु गरेको छ।

यस विश्वविद्यालयमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब एक हजार ९७ जना विद्यार्थी अध्ययनरत छन् ।