टेलिकमको कवाडी लिलाम प्रकरण : नक्कली गोदाम खडा

टेलिकमको कवाडी लिलाम प्रकरण : नक्कली गोदाम खडा

धनगढी । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयअन्तर्गतको दूरसञ्चार कार्यालय, गेटा कैलालीबाट एक करोड ६ लाख मूल्यको तामाजन्य (स्क्रप कपर केबल) कवाड सामग्रीमा राजस्व छली भएको पाइएको छ । टेलिकमका कर्मचारी, ठेकेदार कम्पनी र केही प्रहरी अधिकृतको मिलेमतोमा निकासी हुँदै गरेको अनुमान गरिएको उक्त सामग्री कैलालीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्रको टोलीले नियन्त्रणमा लिएपछि एकपछि अर्को गर्दै रहस्य खुल्दै गएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले राजस्व छलीको आशंकामा गेटा कार्यालयबाट चलानी भएको सामान बोकेका दुईवटा ट्रक सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिन लगाएका थिए । ती ट्रकमा टेलिकममा राजस्व तिरेर चलानी भएको परिमाणभन्दा झन्डै दोब्बर सामान फेला परेको थियो । बढी परिमाणको सामानको राजस्व एक करोड ६ लाख रुपैयाँ हुन आउँछ । गेटा कार्यालयबाट चलानी गरिएको सामान पक्राउ परेपछि ठेकेदार कम्पनी बीएलएस कन्स्ट्रक्सन काठमाडौंका प्रतिनिधिले बढी परिमाणको सामान धनगढीस्थित आफ्नो गोदामबाट लगिरहेको दाबी गरेका छन् । तर प्रारम्भिक छानबिनमा संलग्न अधिकारीहरूले ठेकेदार कम्पनीले सामान पक्राउ परेपछि धनगढीमा नक्कली गोदाम खडा गरेको बताएका छन् ।

कम्पनीका प्रतिनिधि चन्दनकुमार साहले गोदाम रहेको दाबी गरे । बढी परिमाणको सामान गोदामको भएको उनले दाबी गरे पनि विश्वास गर्ने आधार नदेखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीको भनाइ छ । ‘सहिद गेटनजिक देखाएको त्रिपाल टाँगेर कर्कटपाताले घेरिएको गोदाममा सामान राख्ने गरिएको जस्तो लाग्दैनथ्यो,’ जोशीले भने, ‘विस्तृत अनुसन्धानपछि सबै कुरा स्पष्ट होला ।’ ठेकेदार कम्पनीका स्थानीय व्यवस्थापक साहले भने गोदामका सबै कागजपत्र रहेको र बढी देखिएको सामान त्यही गोदामबाट उठाएको दाबी गरे ।

गोदामबाट उठाएको समय र सुरक्षाकर्मीले नियन्त्रण गरेको समयको अवधिलाई हेर्दा पनि गोदामबाट त्यति परिमाणको सामान ट्रकमा लोड गरिएको दाबी अपत्यारिलो रहेको प्रशासकीय अधिकृत जोशी बताउँछन् । नक्कली गोदाम रहेको आंशका लागेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ । ‘ठेकेदार कम्पनीले बढी देखिएको परिमाणको सामान आफ्नो गोदामको भएको दाबी गरिरहेको छ । तर नक्कली गोदाम खडा गरिएको हाम्रो आशंका छ,’ मिश्रले भने, ‘प्रहरी अनुसन्धानपछि थप प्रक्रिया अघि बढ्छ ।’ प्रारम्भिक रुपमा चोरीे प्रकृतिको घटना देखिएकाले प्रहरीले विस्तृत अनुसन्धान गर्ने उनले जनाए ।

कैलालीस्थित दूरसञ्चार कार्यालय गेटाबाट पुस २२ आइतबार रा१ख ३२०६ र ना६ख ४६० नम्बरका दुई ट्रकमा तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान लोड गरिएको थियो । दुवै ट्रकमा गरी टेलिकमको प्रादेशिक निर्देशनालयले १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) तौलको राजस्व लिएर निकासा पत्र बनायो । तर ती दुई ट्रकमा भरिभराउ सामानको तौल भने झन्डै दोब्बर थियो । सुरक्षाकर्मीले नियन्त्रणमा लिएर ट्रकको सामान पुनः तौल गर्दा २८ हजार २५० किलो (२८.२५० टन) सामान फेला परेको थियो । पुनः तौलबाट १२ हजार ५७१ किलो (१२.५७१ टन) बढी तौलको सामान फेला पारेको थियो । बढी भएको सामानको राजस्व मूल्य एक करोड ६ लाख ९६ हजार रुपैयाँ हुन आउँछ, जो टेलिकमलाई नोक्सान भएको छ ।

दूरसञ्चार कार्यालय गेटाबाट अपराह्न चार बजे सामान लोड गरिएको पहिलो ट्रक निकासा भएको थियो । त्यो ट्रक पूर्व–पश्चिम राजमार्ग हुँदै नेपालगन्ज जाँदै थियो । प्रमुख जिल्ला अधिकारी मिश्रको निर्देशनपछि रा१ख ३२०६ नम्बरको ट्रकलाई गेटा मेडिकल कलेज नजिकबाट इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको थियो । ट्रक समातिएको थाहा भएपछि अर्को ट्रकलाई हुलाकी राजमार्गको बाटो हुँदै भगाइयो । ‘भगाउँदै गरेको ट्रक घेरा हालेर हसुलियबाट नियन्त्रणमा लिएका हौं,’ सशस्त्र प्रहरीको ३४ नम्बर गण हेडक्वाटरका गणपति रामहरि अधिकारीले भने, ‘अवैध रूपमा सामान निकासी भइरहेको सूचना पाएपछि उक्त ट्रक नियन्त्रणमा लिन विभिन्न युनिटबाट हाम्रा टोलीहरूलाई परिचालन गरेर समातेका हौं ।’

ट्रक पक्राउ परेलगत्तै टेलिकमका कर्मचारी आफूलाई भेट्न आउँदा अचम्म लागेको पमुख जिल्ला अधिकारी मिश्रले जनाए । ‘उनीहरू त्यसरी सक्रिय हुनुपर्ने जरुरी थिएन,’ उनले भने । ट्रक नियन्त्रणमा लिइएपछि प्रमुख जिल्ला अधिकारी मिश्रले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान तीन वटा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित ६ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिले सामानको पुनः तौल गर्ने, टेलिकम र ठेकेदार कम्पनीका प्रतिनिधिसँग बुझ्नेलगायत कार्य गरिएको संयोजक जोशीले बताए । छानबिन समितिले नियन्त्रणमा लिएका ट्रकमा रहेको सामान पुनः तौल गर्दा टेलिकमको कार्यालयमा दाखिला गरिएको भन्दा १२ हजार ५७१ किलो (१२.५७१ टन) बढी तौलको सामान फेला परेको जोशीको भनाइ छ ।

ठेक्का सम्झौताअनुसार टेलिकमले लिलाम बिक्री गरेको उक्त तामाजन्य सामग्रीको बिक्री मूल्य प्रतिटन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैयाँ पर्छ । यसअनुसार बढी तौल छलेर निकासी भएको परिमाणको मूल्य एक करोड ६ लाख ९६ हजार रुपैयाँ हुन आउँछ । प्रबल थापाका नाममा रहेको बीएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले प्रादेशिक निर्देशनालयसँग ९६ टन कवाडी खरिदको सम्झौता छ । टेलिकमको सम्पर्कमा कम्पनीका तर्फबाट श्यामकुमार जैसवालले कारोबार हेर्ने गरेका छन् । उनका स्थानीय प्रतिनिधि चन्दनकुमार साहले सामान निकासीको व्यवस्थापन गर्दै आएका थिए ।

कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता गरेको छ । ठेक्का सम्झौताअनुसार टेलिकमले लिलाम गरेको उक्त तामाजन्य सामग्रीको बिक्री मूल्य प्रतिटन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैयाँ पर्छ । निर्देशनालयका अनुसार ठेकेदार कम्पनीले टेलिकमका विभिन्न कार्यालयबाट हालसम्म ६७ हजार २४९ किलो सामान उठाइसकेको अभिलेख छ । टेलिकम प्रादेशिक निर्देशनालयले उपप्रबन्धक गोविन्दसिंह धामीको संयोजकत्वमा ९ सदस्यीय तौल जाँच समिति गठन गरेको थियो ।

आफ्नोतर्फबाट कुनै तलमाथि नभएको संयोजक धामीले दाबी गरे । तर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जोशीले तौल गर्ने बेला सीसीटीभी पनि प्रस्ट नराखिएको पाइएको बताए ।सुरक्षा स्रोतका अनुसार जिल्ला प्रशासनद्वारा गठित छानबिन समितिले काम सुरु गरेदेखि प्रहरी–प्रशासनका अधिकारीलाई टेलिकम र ठेकेदारसम्बद्ध पक्षले चर्को दबाबमा राखेका थिए ।

‘टेलिकमका उच्च अधिकारीसहितको मिलेमतोमा घोटाला गराउने प्रयास भएको हो । यसका कार्यमा सुरक्षा संयन्त्रको पनि संलग्नता रहेको बुझिएको छ,’ एक सुरक्षा अधिकृतले भने, ‘ठेकेदारबाट जिल्ला प्रहरी कार्यालयका अधिकृतहरूलाई सत्यतथ्य ढाकछोप गर्न सुरुदेखि नै चर्को दबाब छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी देबेन्द्रबहादुर पालले बताए । गेटा कार्यालयबाट निकासी हुँदै गरेको ट्रकमा बढी परिमाणको सामान भेटिएपछि यसअघि निकासी भएको परिमाणमा पनि आशंका पैदा भएको उनको भनाइ छ ।