चैते धानमा ब्याक्टेरियल पेनिकल ब्लाइट

चैते धानमा ब्याक्टेरियल पेनिकल ब्लाइट

कञ्चनपुर : भीमदत्त नगरपालिका–२ उल्टाखामका किसानचन्द्र जोशीले लगाएको हर्दिनाथ–१ जातको चैते धानमा ‘ब्याक्टेरियल पेनिकल व्लाइट’ रोग देखा परेको छ। रोगका कारण धानको बाला लाग्ने तर भित्र दाना नहुने समस्या देखा परेको छ।

धानको बालामा भुस मात्रै भएको किसान जोशीले बताए। उनले भने, ‘डेढ बिघा जग्गामा लगाएको पुरै धान बिग्रिँदा समस्यामा परेको छु।’ माटो तथा बीउमा हुने जिवाणुका कारण धानमा यस्तो समस्या देखा पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका प्रमुख टीका थापाले बताउँछन्।

उनका अनुसार तातो र सुख्खा मौसमले यस रोग लाग्ने गर्दछ। धानमा फूल लाग्ने समयमा उच्च तापक्रम भयो भने विशेषतः यो रोग फैलिन्छ। ‘ब्याक्टेरियल पेनिकल व्लाइट’को समस्या जिल्लामा पहिलो पटक देखा परेको छ प्रमुख थापाले बताए। ‘यसका कारण धान खेतीमा चुनौती थपिएको छ,’ उनले भने, ‘यस्तो किसिमको रोग मैले पनि पहिलो पटक देखेको हुँ।’

ब्याक्टेरियाका कारण धानमा समस्या देखा परेकाले कृषि विज्ञको सल्लाहमा किसानले एन्टिबायोटिकको प्रयोग गरी रोग नसरेको धानबालीलाई जोगाउन सकिने उनले बताए। यस रोगका कारण किसानको ७० देखि ९० प्रतिशत बालीमा नोक्सानी हुने गर्दछ।

‘यस रोगका कारण अन्य किसान समेत प्रभावित हुन सक्ने भएकाले नेपाल कृषि अनुसन्धान परिषदले यसबारे चाँडै अनुसन्धान गर्नु पर्दछ,’ कार्यालय प्रमुख थापाले भने, ‘धान बालीको क्षति रोक्नका लागि प्रयास हुनु पर्दछ।’