गाउँसभामा आठ वटा विधेयकको मस्यौदा प्रस्तुत

गाउँसभामा आठ वटा विधेयकको मस्यौदा प्रस्तुत

कैलारी गाउँपालिकाको आज (सोमबार) बसेको गाउँसभाको बैठकमा आठ वटा विधेयकको मस्यौदा प्रस्तुत गरिएको छ ।
विधेयक समितिका संयोजक विकास चौधरीले दुई वटा संशोधन विधेयकसहित आठ वटा विधेयकको मस्यौदा सभासमक्ष प्रस्तुत गर्नुभएको हो ।

केही कुरा सुधार गर्न आवश्यक देखिएपछि सो गाउँपालिकाले कैलारी गाउँपालिकाको भलमनसा प्रणाली संरक्षण तथा विकास ऐन २०७८ पहिलो पटक र कैलारी सिकलसेल रोग/थाइलेसिमिया एनिमिया न्यूनीकरण कार्यविधि २०७६ दोस्रो पटक संशोधन गर्न लागेको छ ।

यसैगरी, कैलारीले यस अधिवेशनमा कैलारी गाउँपालिकाको वन जङ्गल तथा वातावरण संरक्षण ऐन २०८०, कैलारी गाउँपालिकामा रहेका तालतलैया संरक्षण तथा प्रवर्धन कार्यविधि २०८०, कैलारी गाउँपालिकाको बालश्रम नियमन उद्धार तथा व्यवस्थापन कार्यविधि २०८० निर्माणको तयारी गरेको छ ।

यस्तै, एकीकृत बालविकास कार्यक्रम सञ्चालन कार्यविधि २०८०, कैलारी गाउँपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०८०, एम्बुलेन्स सञ्चालन निर्देशिका २०८० निर्माण गरिने जनाइएको छ । गाउँपालिका एवम् गाउँ सभा अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बैठक बसेको थियो ।