गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप

गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप

डोटी । यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा गहुँ उत्पादन घट्ने चिन्तामा रहेका किसानको गहुँ बालीमा पहेलो सिन्दुरे रोग देखा परेको छ । 

डोटीको दिपायल सिलगढी नगरपालिका–८ नारीदाङ र पूर्वीचौकी गाउँपालिका–७ टिमुरदहका किसानको ५ सय रोपनीभन्दा बढी जमिनमा लगाइएको गहुँ बालीमा सिन्दुरे रोग देखापरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए। 

निमित्त प्रमुख अवस्थीले भने, ‘अहिले टिमुरदह र नारीदाङ क्षेत्रमा किसानले लगाएको गहुँ बालीमा सिन्दुरे रोग देखापरेको छ । हामीले गहुँमा रोग लागेको विषयमा जानकारी पाउनेबित्तिकै प्राविधिक र औषधीसहित पुगेर रोग नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’ 

‘रोग लाग्नेबित्तिकै थाहा पाएमा सामान्य किसिमको विषादीको प्रयोग गरेर रोग नियन्त्रणमा ल्याउन सकिन्थ्यो, तर गहुँमा रोग लागेको लामो समयपछि थाहा भएमा भने नियन्त्रणमा लिन गाह्रो हुन्छ’ उनले भने ।

यो वर्ष हिउँदमा पर्याप्त पानी नपरेका कारण गहुँ उत्पादन घट्ने अनुमान गरिएको छ । केही दिनअघि पानी पर्दा गहुँबाली सप्रिने आसमा रहेका किसानलाई पछिल्लो पटक देखा परेको रोगले निराश बनाएको छ । 

‘केही दिनअघि लामो समयपछि वर्षा हुँदा अलिकति भए पनि गहुँ उत्पादन बढ्छकि भन्ने आशा जागेको थियो । लगातारको वर्षा पश्चात् छ झन् गहुँमा सिन्दुरे रोग पो देखा पर्‍यो’ सिन्दुरे रोगका कारण गहुँ बाली सखाप हुँदै गएको दुखेसो पोख्दै डोटीको पूर्वीचौकी गाउँपालिकामा –७ टिमुरदहका किसान विष्णु महराले भने, ‘पानी पर्नुभन्दा पहिले गहुँमा हामीले यस्तो रोग खासै देखेका थिएनौँ । दुईचार दिनको लगातारको वर्षाले वरिपरिका सबै खेतमा सिन्दुरे रोग फैलिएको देखियो ।’

टिमुरदह, नारिदाङ जिल्लामा राम्रो अन्न उत्पादनका हुने क्षेत्रका रूपमा चिनिन्छ । सो क्षेत्रमा यस वर्षको हिउँदमा परेको खडेरी र हालै देखा परेको सिन्दुरे रोगका कारण गहुँ बाली नष्ट हुँदैगएको छ । कृषि ज्ञान केन्द्र डोटी र दिपायल सिलगढी नगरपालिका कृषि शाखाका प्राविधिकसहित टोलीले गएर गहुँ बाली लगाइएको क्षेत्रको अनुगमन पश्चात् गहुँमा सिन्दुरे रोग फैलिएको यकिन भएको बताइएको छ । 

रोग लागेको गहुँको बोट काम नलाग्ने गरी पहेँलो भएर सुक्ने गरेको छ । कृषि ज्ञान केन्द्र डोटीको सल्लाहअनुसार सिन्दुरे रोगको उपचार भइरहेको भए पनि नियन्त्रणमा आउन सकिएको छैन । कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीका अनुसार पहेँलो सिन्दुरे रोग लागेको गहुँ बालीको  पातमा सिन्दुरजस्तै देखिँदै जाने र रोग बढ्दैजाँदा गहुँको डाँठमा रोग देखा परिसकेपछि गहुँको बोट सुक्छ ।

सिन्दुरे रोग रोकथामका लागि बिउँको उपचार गरेर लगाउन पर्ने सल्लाह प्राविधिकको रहेको छ । डोटीमा १४ हजार २ सय ९० हेक्टर जमिनमा गहुँ खेती गरिँदैआएको छ । डोटीको ८२ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ । डोटीमा गत वर्ष २३ हजार ८ सय ९८ मेट्रिक टन गहुँ उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छ ।