कैलालीमा शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय

कैलालीमा शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय

कैलालीमा शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय सुनाइएको छ ।

धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको श्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए ।

उनकाअनुसार मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको छ । दार्चुलाको मार्मा गाउँपालिका–६ सिरोली स्थायी घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् ।

उनी गत भदौ ६ गते धनगढी उपमहानगरपालिका–३ मा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । जगदिशले आफूसँग विवाह गर्ने भन्दै प्रेम गरेको तर अहिले आएर धोका दिएको भन्दै आत्महत्याको बाटो रोजेको उनले लेखेको सुसाइड नोटमा उल्लेख गरेकी थिइन् ।

राजेश्वरीको मृत्युपछि भदौमै उनका बुवा राजेन्द्रसिंह डडालले जिल्ला प्रहरी कार्यालय कैलालीमा जगदिशविरुद्ध छोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।