चुनाव चिन्हबिनै समाजवादी पार्टीले दियो दल दर्ताको निवेदन

चुनाव चिन्हबिनै समाजवादी पार्टीले दियो दल दर्ताको निवेदन

नवगठित समाजवादी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार अपरान्ह निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका हुन् ।

संविधान र कानुनी प्रावधानअनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले जानकारी दिए । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पुर्याउने लक्ष्यसहित तत्कालीन यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई गत वैशाख २३ गते समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो ।

समाजवादी पार्टी, नेपालले निर्वाचन चिन्ह भने दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरेको छैन । त्यसलाई केही दिनमै टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने पनि पार्टीले जनाएको छ ।