सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्री रमेशसिंह धामीले मन्त्रालयको नेतृत्व सम्हालेपछि एक वर्ष अवधिमा भएको कार्य प्रगति विवरण मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयले नीतिगत तथा संस्थागत काम अन्तर्गत एक निर्वाचन एक उद्योग कार्यक्रम लागु गरेको छ ।

यस्तै, प्रत्येक जिल्लामा उद्योग विस्तार तथा दुना–टपरी, बेतबाँस, बेलजुस उत्पादन, ठेकी पारो निर्माण, नेपाली हाते कागज, विजय सालको भाँडा निर्माण, अल्लो तथा जुटको सामग्री निर्माण गर्ने उद्योग सम्वर्धन तथा प्रवर्धन गरिएको छ ।

मन्त्रालयले सामुदायिक वनको काठ सङ्कलन पहिलो संशोधन निर्देशिका २०८० पारित गरेको छ । वन क्षेत्रतर्फ ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षा रोपण, सामुदायिक वन क्षेत्र हस्तान्तरण, अतिक्रमित क्षेत्रलाई खाली गराइ पुनः वन क्षेत्र कायम, कैलाली, कञ्चनपुर र बैतडीका तीन सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी, भू तथा जलाधार क्षेत्रतर्फ नदी किनार संरक्षण तथा तटबन्ध गरी खेतबारी संरक्षण गर्ने काम भएको जनाइएको छ । अव्यवस्थित तथा जीर्ण अवस्थामा रहेका पानीका मुहानको संरक्षण गरी शुद्ध खानेपानीको उपलब्धता, रिचार्ज पोखरी निर्माण गर्ने कार्य मन्त्रालयले गरेको छ ।

यस्तै, कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलामा होमस्टेको प्रवर्धन, व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन र पर्यटकीय क्षेत्रमा प्रवेशद्वार निर्माण गरेको जनाइएको छ ।

उद्योग तथा वाणिज्यतर्फ उद्यम स्थापना तथा सञ्चालनका लागि प्रविधि हस्तान्तरण, उद्योगीलाई विद्युत महसुल, बैङ्क ऋणमा अनुदान, उद्योगहरुको प्रवर्धनका लागि अनुदान प्रदान गर्ने काम भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।