भूकम्पका कारण अधिकांश खानेपानीका मुहान सुक्दै

भूकम्पका कारण अधिकांश खानेपानीका मुहान सुक्दै

बझाङ सदरमुकाम चैनपुरमा केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको भूकम्पका कारण जिल्लाको दुर्गम क्षेत्र दुर्गाथली गाउँपालिकाका अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् । भूकम्पपछि खानेपानीका मुहानहरूमा पानीको मात्रा घटेपछि स्थानीयहरू लाम लागेर पानी भर्नका घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् । गाउँपालिकाका प्रायः जसो सबै गाउँ बस्तीहरू पहाडको फेदी र डाँडामा घिचिमिची छन् । पुस्तौँदेखि मान्छेले बस्ती बस्दा गाउँ नजिकै कुवा वा पानीको मुहान भएको स्थानमा घर बनाएर बसेका थिए ।  तर अहिले गाउँ भित्र वा नजिक रहेका पानीका स्रोतहरू सुक्नेक्रम जारी छ । गाउँ नजिक रहेका पानीका स्रोतहरू सुकेपछि पुराना एकै ठाउँमा बस्ती बसेका गाउँलाई खानेपानीको समस्या देखिन थालेको छ ।  नजिक रहेका पानीका स्रोत सुक्न थालेपछि गाउँबाट टाढा–टाढा रहेका मुहानबाट ल्याएका खानेपानीका मुहानमा समेत समस्या आएको दुर्गाथली गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले बताए ।