धनगढी : कैलाली उद्योग वाणिज्य संघको निर्वाचनबारे अझै अन्यौलता कायमै रहेको छ ।
नक्कली सदस्यको विषयलाई लिएर अदालतमा मुद्दा परेपछि रोकिएको चुनावबारे अझै अन्यौलता कायमै रहेको हो ।
चुनावबारे राय सुझाव गरी प्रतिवेदन पेश गर्नका लागि भदौ ५ गते गठन गरिएको समितिका एक सदस्य जयराज न्यौपानेले छुट्टै प्रतिवेदन पेश गरेपछि चुनावमा थप अन्यौलता थपिएको छ ।
यसअघि चुनाव स्थगित गराउन माग गर्दै मुद्दा हालेका व्यवसायी रविन पन्तले समेत समितिको प्रतिवेदनमा सहमति जनाईसकेका छन ।
तर, समितिका सदस्य न्यौपानेले वडा कार्यालयमा दर्ता भएका व्यावसायीलाई मताधिकार दिने विषयमा फरक मत राखेका छन ।
त्यस्तै, हालको संघको कार्यसमितिको म्याद भदौ २२ गते सकिने भएकाले तदर्थ समिति गठन गरेर चुनाव गराउनुपर्ने माग न्यौपानेले गर्दै आएका छन ।
संघका नक्कली सदस्यताको विषयमा राय सुझाव दिन बनाइएको पाँच सदस्यीय मध्येका समितिका संयोजक शंकर बोगटी, रुपेश स्वाँर, पुष्प कुँवर र रविन पन्त गरी चार जना सदस्यले भने कुनै पनि सरकारी निकायमा दर्ता भएका व्यवसायीलाई मताधिकार दिन मिल्ने भन्दै प्रतिवेदन बुझाएका थिए ।
यसअघि चुनाव रोक्न माग गर्दै अदालतमा मुद्दा हालेका व्यवसायी पन्तले समेत समितिको प्रतिवेदनमा सहमति जनाएको अवस्थामा न्यौपानेले छुटटै प्रतिवेदन बुझाउनुलाई संघले भने प्रायोजित भनेको छ ।
उसले चुनाव रोक्नका लागि षडयन्त्र स्वरूप फरक मत आइरहेको दाबी समेत गरेको छ । सघका अध्यक्ष समेत रहेका सुझाव समितिका संयोजक शकर बोगटी सुरुमा सबै कुरामा सहमत भएका जयराज न्यौपानेले अन्तिममा आएर छुटटै प्रतिवेदन निकालेको आरोप लगाए ।
उनले चुनाव रोक्ने र संघलाई बन्दी बनाउने षडयन्त्र स्वरूप समितिकै एक जना सदस्यले छुटटै प्रतिवेदन प्रशासनमा पेश गरेको दाबी गरे ।
यता, चुनाव गराउन अदालतले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पनि सुझाव समितिले दुई वटा प्रतिवेदन दिएपछि अन्यौलयमा परेको छ ।
चुनाव गराउनका लागि पर्खेर सुझाव समितिको प्रतिवेदन पर्खेर बसेको प्रशासन एउटै समितिले दुई प्रतिवेदन बुझाएपछि अन्यौलमा परेको हो ।
दुई प्रतिवेदनपछि अदालतले दिएको आदेशको सक्कल आईनपुगेको र आदेश आएपछि प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।
गत वैशाख २२ गतेको चुनाव रोक्न माग गर्दै परेको मुद्दामा परमादेश आदेश जारी गर्दै अदालतले संघका नक्कली सदस्यहरूलाई करको दायरामा ल्याउन र जिल्ला प्रशासन कार्यालय कैलालीको रोहवरमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको थियो ।
जिल्ला प्रशासनले चुनाव गराउन प्रयास गरे पनि अझै विवाद समाधान हुन नसक्दा चुनाव अन्योलमा परेको हो ।
गत वैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनावको प्रचारप्रसारदेखि उम्मेद्वारले उम्मेद्वारी समेत दर्ता गरेपछि उच्च अदालत दिपायलले निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २० गते निर्वाचन स्थगित गर्न आदेश दिएको थियो ।
यसअघि स्थगित गरिएको चुनावमा पुष्प कुँवर र रुपेश स्वार प्यानल सहित चुनावी मैदानमा थिए ।