१२ लाख रूपैयाँसहित चिनियाँ नागरिक पक्राउ

१२ लाख रूपैयाँसहित चिनियाँ नागरिक पक्राउ

अवैध रूपमा हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा चीनको सांघाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी रूपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुन्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट पक्राउ गरिएको हो।

पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोटको आठ लाख रूपैयाँ तथा पाँच सय दरका नोटको चार लाख रूपैयाँ गरी १२ लाख रूपैयाँ बरामद गरिएको प्रवक्ता रेग्मीले बताए। 

उनलाई नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।