दलको नेता बर्खास्तपछि सुदूरपश्चिम माओवादीमा किचलो

दलको नेता बर्खास्तपछि सुदूरपश्चिम माओवादीमा किचलो

धनगढी । संसदीय दलको नेताबाट गत माघ १२ मा बर्खास्त गरिएपछि सतहमा पुगेको सुदूरपश्चिम प्रदेशसभाको दोस्रो ठूलो दल माओवादी केन्द्रको आन्तरिक किचलो बुधबार सम्पन्न स्थायी कमिटीको निर्णयसँगै उत्कर्षमा पुगेको छ । सुदूरपश्चिमबारेको पछिल्लो निर्णयले माओवादीका प्रदेशसभा सदस्य मात्रै होइन, पार्टी कार्यकर्ता पनि दुई कित्तामा विभक्त भएका छन् । 

दलको नेता बर्खास्तपछि सुदूरपश्चिम माओवादीमा किचलो
खगराज भट्टलाई हटाएर प्रमुख सचेतक मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गर्ने बहुमत सांसदको निर्णयलाई पार्टी केन्द्रले सदर गरिदिएपछि विवाद र आक्रोशको तह व्यक्तिगत आरोप–प्रत्यारोपमा पुगेको छ । एकथरीले भट्टको बचाउ गरिरहेका छन् भने अर्काथरीले निर्णयलाई स्वाभाविक भनेका छन् ।

सुदूरपश्चिममा सभामुखसहित ११ प्रदेश सांसद रहेको माओवादीमा ६ जनाले दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बैठक गरी भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेका थिए । तर आफूलाई हटाउने निर्णय पार्टी केन्द्र, अध्यक्ष पुष्पकमल दाहालले समर्थन गर्लान् भन्ने भट्टलाई लागेको थिएन । अर्थात् प्रदेशमा एउटा समूहले गरेको निर्णयलाई पार्टी केन्द्रले उल्टाउला भन्ने उनलाई आस थियो । तर बुधबार सम्पन्न स्थायी कमिटी बैठकले भट्टको आशालाई तुषारापात गरिदियो । उनलाई हटाउने प्रदेश संसदीय दलको निर्णयलाई स्थायी कमिटीले सदर गरिदिएको हो ।

सुदूरपश्चिमबाट एकमात्र स्थायी कमिटी सदस्य रहेका भट्टलाई इन्चार्जको जिम्मेवारीसमेत नदिने निर्णय भएपछि मुख्यमन्त्रीको आकांक्षीसमेत रहेका उनी थप क्रुद्ध भएका छन् । स्थायी कमिटीको निर्णय आफ्नो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइनअन्तर्गत भएको लिखित प्रतिक्रिया दिँदै बुधबार नै उनले अध्यक्ष दाहाललाई सम्बोधन गर्दै चारबुँदे प्रश्न गरेका छन् । अध्यक्ष दाहाललाई सम्बोधन गर्दै भट्टले प्रश्न गरेका छन्, ‘यस निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखा परेको अराजकतालाई निरुत्साहन गर्छ या प्रोत्साहन रु पार्टीलाई नै जीवन ठान्ने कार्यकर्तालाई उत्साहित गर्छ या निराश रु पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहनाबाट रु यसले पार्टीमा दण्डहीनतालाई प्रश्रय हुँदैन र रु’

भट्टलाई दलको नेताबाट हटाउने निर्णय गर्नेमा सांसदहरू अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, गीतादेवी माल र लक्ष्मी विक थिए । गीतादेवी हाल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री छिन् । भट्टका पक्षमा चार जना सांसद मात्र देखिएका थिए । सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, भट्ट आफैं र बैठकमा अनुपस्थित भएर जानकीदेवी कुँवरले भट्टको पक्षधरता लिएका थिए । यतिबेला सुदूरपश्चिममा माओवादी विवादले नेता–कार्यकर्ता दुई कित्तामा विभक्त भएका छन् ।

अर्का सांसद शिवसिंह ओली गठबन्धनको सरकार भए पनि कांग्रेसलाई एकलौटी चल्न दिन भट्टको भूमिका सहयोगी जस्तो देखिएको आरोप लगाउँछन् । ‘उहाँले सबैलाई मिलाउन सक्नुभएन, सरकारमा मन्त्री पठाउँदा पनि सरसल्लाह गर्नुभएन,’ सांसद ओलीले भने, ‘दलको नेता जस्तो मान्छे आफैं मन्त्री भएर दलकै ओज घटाउनुभयो । यसबीचमा सरकारसँग गरिएका सम्झौता कार्यान्वयन गराउन सक्नुभएन र दलीय भागबन्डाअनुसार कार्यान्वयन गराउन पनि सक्नुभएन ।’ भट्ट भने उक्त आरोप अस्वीकार गर्छन् । भन्छन्, ‘सबैलाई मन्त्री चाहिएको छ, सबैलाई एकै पटक मन्त्री बनाउन सकिने अवस्था होइन ।’

बहुमत सदस्यले भट्टलाई हटाउने निर्णय गरे पनि पार्टीको प्रदेश कमिटीका अध्यक्ष, सचिवसहित केही पदाधिकारी भने उनकै पक्षमा थिए । बैठकले पार्टीर्को विधिविपरीत र केन्द्रीय कार्यालयको निर्देशनसमेत अबज्ञा गर्दै संसदीय दलको नेता हटाएकोमा आपत्ति जनाउँदै तत्काल निर्णय सच्याउन निर्देशन गरेको थियो । प्रदेश अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाद्वारा हस्ताक्षरित पत्र संसदीय दलको कार्यालयमा पठाइए पनि केही लागेन ।

सुदूरपश्चिममा माओवादीभित्रको गुटबन्दी आकस्मिक रूपमा छताछुल्ल भएको भने होइन । कांग्रेस नेतृत्वको सरकारमा मन्त्री पठाउने बेलादेखि नै उनीहरूबीच विवादको बीउ रोपिइसकेको थियो । सांसदहरूको हानाथापका बीच धामी र साउद मन्त्री बनाइएका थिए । अर्कोतिर लगातार दुई पटक चुनाव जितेर आएका अछामका रावल र दार्चुलाका धामी आफूमाथि अन्याय गरिएको बुझाइमा थिए । साथै, सांसद भाट र ओली पनि मन्त्रीका उच्च आकांक्षी थिए । यसै क्रममा असन्तुष्टहरूको बहुमत जुट्दै गएपछि भट्टलाई हटाउने निर्णय गरिएको थियो ।

भट्टलाई दलको नेतबाट हटाउने निर्णयमा अग्रसर धामी, रावल, ओली र भाट पनि एउटै कित्तामा नभएको कार्यकर्ताहरू सुनाउँछन् । ‘उनीहरूमध्ये ओली नारायणकाजी (श्रेष्ठ) निकट हुन् । भाट र धामी वर्षमान (पुन) का,’ माओवादीका एक नेताले भने, ‘माथिका साइट टावरहरूको आडमा उनीहरूले प्रदेशसभामा खेलिरहेका छन् ।’ पद प्राप्तिको आशक्तिकै कारण संसदीय दलभित्र पार्टीका निर्देशन र हितविपरीतका गतिविधि हुर्कंदै गए पार्टी पद्धति नै बर्बाद हुने ती नेताले चिन्ता देखाए ।

‘अर्कोतिर सिनियर लिडरलाई नस्वीकार्ने प्रवृत्ति त झनै खतरनाक रूपमा देखा पर्‍यो,’ माओवादीका अर्का एक प्रदेश स्तरीय नेताले भने, ‘अहिलेको अभ्यासबाट माओवादी अस्थिरताको पर्यायवाची बन्ने जोखिम बढेको देखिन्छ । यसले त पार्टीभित्र बदलाको भाव बढ्छ ।’ सांसद भट्टको भावमा पनि यतिबेला आक्रोश मिश्रित निराशा देखिएको छ । उनी भन्छन्, ‘अब जनता र कार्यकर्ताको बीचमा जान्छु । जनताले न्याय गर्छन् भन्ने विश्वास छ ।’ खगराजकै भविष्य नभएको पार्टीमा अरूको भविष्य के होला भन्ने सोच विस्तार भयो भने के होला भन्ने प्रश्न पनि उनले गरेका छन् । त्यसैले उनी भन्छन्, ‘अहिले स्थायी कमिटीले गरेको निर्णयको प्रतिवाद नगर्ने हो भने सुदूरपश्चिममा माओवादी रसातलमा पुग्छ ।’