थरूहट/थारुवानद्वारा पुनः आन्दोलनको घोषणा

थरूहट/थारुवानद्वारा पुनः आन्दोलनको घोषणा

धनगढी : थरूहट/थारुवान् संयुक्त संघर्ष समितिले आगामी भदौबाट थरूहट प्रदेशको मागसहितका विभिन्न १३ माग अघि सार्दै आन्दोलनको घोषणा गरेको छ।

आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थरूहट/थारूवान संयुक्त संघर्ष समितिले भदौ ७ गते टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने र आफ्ना विगतदेखिकै मागहरू अघि सार्दै आन्दोलन थाल्ने घोषणा गरेको हो ।

शनिवार त्यसैको तयारीस्वरुप माधव चौधरीको संयोजकत्वमा ५१ सदस्यीय थरूहट/थारूवान् संयुक्त संघर्ष समिति गठन गरिएको थरूहट/थारूवान् संयुक्त संघर्ष समिति कैलालीका अध्यक्ष माधव चौधरीले बताए।

संघर्ष समितिले संविधानमा असन्तुष्टि जनाउँदै विभिन्न १३ वटा माग अघि सारेर विगतबाटै आन्दोलन अघि सारेको छ, जसमा कञ्चनपुरदेखि चितवनसम्मका ९ नौवटा जिल्लालाई समेटेर तराईको छुट्टै थरूहट प्रदेश बनाउनुपर्ने माग पहिलो बुँदामा रहेको छ।

यही विषयमा २०७२ भदौ ७ गते टीकापुरमा थरूहट/थारूवान् आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो।

अहिले संविधान संशोधन सहित टीकारपुर घटनालाई राजनीतिक रूपमा समाधान गरिनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुर घटनापछि थारूहरूमाथि अन्याय भएको विषयमा छानबिन गरिनुपर्नेलगायतका १३ वटा माग अघि सारेर आन्दोलन गर्नुको आफूहरूसँग विकल्प नरहेको अध्यक्ष चौधरीले बताए। पत्रकार सम्मेलनमा गत फागुन २२ गते अदालतबाट रिहा भएका थारू नेता लक्ष्मण चौधरीले नेपालको संविधान जलाउने अभिव्यक्ति दिएका छन्।

‘हामीलाई यो देशको नयाँ बनेको संविधानले अन्याय गर्‍यो,’ उनले भने, ‘संविधानमार्फत हामीलाई यो देशको नागरिकको व्यवहार पनि गरिएन, त्यस कारण हामी आगामी भदौ–असोजमा यो संविधान च्यात्दैछौँ, जलाउँदै छौँ।’

यो संविधानलाई जस्ताको त्यस्तै सवीकार्न आफूहरू कुनै पनि हालतमा तयार नरहेको उनले बताए। टीकापुर घटनालाई राजनीतिक मुद्दाको संज्ञा दिँदै उनले आफूहरूलाई झुटा मुद्दा लगाएर ४२ महिनासम्म जेलमा कोचेर राखिएको बताए।