टीकापुरमा लु तथा शीतलहरको पूर्वकार्यविधि बन्दै

टीकापुरमा लु तथा शीतलहरको पूर्वकार्यविधि बन्दै

कैलालीमा हरेक वर्ष गर्मीमा लु र हिउँदमा शीतलहरले नागरिकलाई हैरानी हुन्छ । गर्मीमा यहाँका नागरिकको दैनिकी कष्टकर हुन्छ भने चिसोमा शीतलहरका कारण कामकाजमा मात्र समस्या होइन खेतीपातीमासमेत असर पार्छ । लु र शीतलहरका कारण हुने क्षति न्यूनीकरणका लागि अब टीकापुर नगरपालिकाले योजना बनाएर काम गर्ने भएको छ ।

विपद् भनेपछि बाढी मात्र सम्झने यहाँका पालिकाले विपद्का अन्य क्षेत्रमा काम गर्न थालेका छन् । टीकापुर नगरपालिकाले पूर्वानुमानमा आधारित लु तथा शीतलहरको पूर्वकार्य व्यवस्थापन कार्यविधि निर्माण थालेको छ । कार्यविधिको मस्यौदामा विपद् व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधि तथा सरोकारवालाबिच छलफल भएको छ । गर्मीमा लु तथा जाडोमा शीतलहरले धेरै क्षति हुने भएकाले पूर्वकार्य तथा राहतमा सहजता होस् भनी कार्यविधि निर्माण थालिएको हो ।

मौसम पूर्वानुमानका आधारमा लु तथा शीतलहरको प्रभाव न्यूनीकरण गर्न र पूर्वकार्यका कार्य गर्न कार्यविधि भएमा सहज हुने विपद् शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो । “हामीसँग बाढीको पूर्वकार्य कार्यविधि यसअघि नै बनिसकेको छ”, चौधरी भन्नुहुन्छ, “अब हामीले विशेष गरी चार क्षेत्रलाई प्राथमिकता दिएर कार्यविधि बनाएर काम गर्न खोजेका छौँ, आगलागी, खडेरी, जङ्गली जनावरको जोखिमबाट बच्न कार्यविधि बनाएर काम गर्ने तयारीमा छौँ ।”

कार्यविधिमा विपद्को जोखिम, प्रभाव पार्ने क्षेत्र, विपद्को प्रभावको अवस्था, अति सङ्कटापन्न वर्ग छुट्याइएको छ । कार्यविधि भएमा लक्षित वर्गको तथ्याङ्क व्यवस्थापनमा सहज हुने र प्रतिकार्यका कार्यमा सहज हुने कार्यपालिका सदस्य दीपक निसानीले बताउनुभयो । “योजना भएमा बजेट व्यवस्था गर्न सकिन्छ, विपद्का समयमा विषयगत समिति आफैँ सक्रिय हुने भएकाले पालिकालाई सहज हुन्छ”, निसानीले भन्नुभयो, “विपद् भनेको बाढी मात्र होइन, हाम्रो यहाँ बाढीभन्दा बढी कृषिमा क्षति शीतलहर र लु ले हुने गरेको छ ।”

मस्यौदाका परामर्शदाता दिनेशचन्द्र जोशीले बाढी मात्र विपद् हो भन्ने बुझाइ परिवर्तन हुँदै गएको बताउनुभयो । “यहाँ विपद्, विपद् शाखा भनेपछि बाढीको जोखिम न्यूनीकरणमा मात्र काम भएका छन्”, उहाँ भन्नुहुन्छ, “अन्य विपदमा पनि काम गर्नुपर्छ, शीतलहर, लु, आगलागी, खडेरी, जङ्गली जनावरको असरजस्ता धेरै विपद्का क्षेत्रमा पालिकाले काम गर्नु आवश्यक छ ।” रासस