साफ यू–१६ महिला च्याम्पियनसिप : नेपाल भारतसँग १०–० ले पराजित

साफ यू–१६ महिला च्याम्पियनसिप : नेपाल भारतसँग १०–० ले पराजित

नेपाललाई १० गोलले हराउँदै भारत १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो ।

नेपाललाई हराएर दोस्रो जित हात पारेको भारतले फाइनलमा स्थान बनाएको छ र बंगलादेशसँग उपाधि भिडन्त पक्का गरेको छ । फाइनल आइतबार हुने छ ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमै बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि भुटानलाई हराएको थियो । ३ खेल नै खेलिसकेको भारतले ६ अंक जोडेको छ । नेपाल र भारतको लागि आजको खेल अघोषित सेमिफाइनल जस्तै थियो ।

जित्ने टोली फाइनल पुग्ने अवस्था रहेकोले नेपाललाई जितको विकल्प थिएन । तर एन्फा कम्पलेक्स टर्फ मैदानमा भारतले सुरुदेखि नै नेपालमाथि दबाब बनाउँदै गोल गर्न सुरु गरेको थियो ।

दोस्रो मिनेटमै गोल गरेको भारतले एकपक्षीय रुपमा नेपालमाथि दबाब बनाउँदै लगेपछि नेपाली खेलाडी निरीह जस्तै देखिएका थिए ।

पहिलो हाफमा नेपालले भारतको पेनाल्टी बक्समा बल पु¥याउन नै संघर्ष गरेको थियो । दोस्रो मिनेटमै अनिता डुङडुङले गोल गरि भारतलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा पर्ल फर्नान्डेजले १४ र ४३ मिनेटमा गोल गरिन् । यस्तै अनुस्का कुमारीले २२, बोनफिलिअ सुल्लाईले २५ र गुरलिन कौरले ३२ मिनेटमा गोल गरिन् ।

दोस्रो हाफको सुरुमै नेपाली डिफेण्डर मिनमाया श्रेष्ठले आत्मघाती गोल गरिन् । ५८ मिनेटमा गुर्नाज कौरले गोल गरिन् । यस्तै गुरलिन कौरले ७७ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ७९ मिनेटमा रिहान्न लिज जाकोबले गोल गर्दै भारतको अग्रता १०–० बनाइन् ।