दिवा खाजामा स्थानीय सरकारले रैथाने बालीको परिकार समावेश गर्दै

दिवा खाजामा स्थानीय सरकारले रैथाने बालीको परिकार समावेश गर्दै

बाजुरा । विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवाखाजा कार्यक्रममा बाजुराका स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन् ।
सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको फापर, जौ, कोदोलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवाखाजामा समावेश गर्न थालिएको हो।

जिल्लाको बडीमालिका नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा दिवाखाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालेको छ । नगरपालिकाले गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवर्द्धन र पहिचान बढाउने गरी दिवाखाजामा समावेश गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख रङ्गमल विकले बताए।

नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन गरिएको कोदो, मकैलगायतका परिकार बनाएर खुवाउने गरेको उनले बताए। स्थानीयस्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवर्द्धन तथा प्रचार–प्रसार गर्नेगरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने नीति कार्यान्वयन भएको नगरप्रमुख अमर खड्काले बताए ।

रैथाने बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्यसहित नगरले लिएको नीति अवलम्बन गरी नगरभित्रका २५ वटा सामुदायिक विद्यायलयमा गाउँमा उत्पादन गरिएको रैथाने बाली कोदोको परिकार बनाउने गरिएको  नगरपालिकाले जनाएको छ ।

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन तथा विद्यालयमा विद्यार्थी छाडेर जाने र विद्यालयमा नआउने हुँदा सङ्ख्या बढाउनका लागि सरकारले दिवाखाजा सञ्चालन गर्दै आएको छ ।