सुदूरपश्चिममा सरकार विस्तार, एउटै जिल्ला कैलालीका ६ मन्त्री

सुदूरपश्चिममा सरकार विस्तार, एउटै जिल्ला कैलालीका ६ मन्त्री

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चौथो पटक सरकार विस्तार गरेको छ ।

शुुक्रबार उनले नागरिक उन्मुक्तिका तीन मन्त्रीलाई नियुक्त गर्दै सरकार बिस्तार गरेका हुन् । अल्पमतमा हुँदा हुँदै उनले असमावेशी रुपमा सरकार विस्तार गरेका छन् । प्रदेशमा ९ जिल्ला भएपनि तर सबैको प्रतिनिधित्व नहुने गरी मन्त्रीमण्डल बिस्तार भएको हो ।

सात सदस्यीय सरकारमा कैलालीका मात्रै ६ मन्त्री रहेका छन् । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट मात्रै बैतडीका हुन् ।

मुख्यमन्त्री शाह कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभाबाट निर्वाचित भएका थिए । त्यसै क्षेत्रको अर्को प्रदेशसभाबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । घनश्याम चौधरी आर्थिक मामिलामन्त्री नियुक्त हुँदा खुसीराम चौधरीले विनाविभागीय मन्त्री बनेका छन् ।

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा पनि कैलालीबाट निर्वाचित हुन् । कैलालीबाट समानुपातिक सांसद भएकी इन्दिरा गिरीले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको कांग्रेस सरकार अल्पमतमा परेको छ । केही दिन अघि माओवादीका तीन र  एकीकृत समाजवादी पाटिका एक मन्त्रीलाई हटाइएको थियो । माओवादीका तीन र एकीकृत समाजवादी पाटिका एक मन्त्रीलाई हटाइएको थियो । 

माओवादीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई हटाइएको थियो । नेकपा एकीकृत समाजवादीका आर्थिक मामिला मन्त्री नरेश शाहीलाई मन्त्रीबाट हटाइएको हो ।

 कैलालीमा प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र छन् । कैलालीसँगै जोडिएको प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरबाट एक जना पनि मन्त्री नियुक्त भएनन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकारलाई बहुमत पु¥याउन २७ जना सांसद आवश्यक पर्छ । अहिले प्रदेश सरकारलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी २५ जना सांसदको मात्रै समर्थन रहेको छ ।सरकारमा रहेको यी दुई दलले बहुमत पुग्दैन ।

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।