निफमा केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने

निफमा केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने

काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ ) को सातौं संस्करणमा यी दुईले विमर्श गर्न लागेका हुन् ।

फिल्मका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा सत्रमा यी दुईले छलफल गर्न लागेको निफद्वारा जारी वक्तव्यमा उल्लेख छ । फेस्टिभलको दोस्रो दिन शुक्रबार ११ देखि १ बजेसम्म ओली र हमालबीचको सत्र आयोजना गरिएको जनाइएको छ ।

चैत १ देखि ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली फिल्मको बजार, फिल्म समीक्षा र फिल्ममा एआइको प्रभावको विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए ।

‘निर्देशक हराएको सूचना’ सत्रमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीले छलफल गर्नेछन् । फिल्ममा लैंगिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा र गायिका आनी छोइङ डोल्माले विमर्श गर्नेछन् । दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुने जनाइएको छ ।

प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् । केकी अधिकारी, प्रदीप भट्टराई र केपी ढुंगानाले फिल्म समीक्षाबारे छलफल गर्नेछन् ।

‘सिनेमाका नयाँ बजार र अवसर’ शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङले छलफल गर्नेछन् । आनी छोइङको जीवनप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा स् नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु हुने जनाइएको छ । फेस्टिभलमा ४० देशका ८८ फिल्म देखाइने भएको छ ।