मन्त्रिपरिषद् २२ सदस्यीय बन्यो, उपप्रधानमन्त्रीको संख्या ४ पुग्यो

मन्त्रिपरिषद् २२ सदस्यीय बन्यो, उपप्रधानमन्त्रीको संख्या ४ पुग्यो

अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

जसमा एमालेले आठ, नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दुई÷दुई वटा मन्त्रालय पाएका छन् ।

नवनियुक्त उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नयाँ मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको सङ्ख्या फेरि चार जना पुगेको छ । अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डले विष्णु पौडल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री राखेका थिए ।

त्यसपछि कांग्रेससँगको गठबन्धन बन्दा श्रेष्ठ र पूर्णबहादुर खड्का गरी दुई जना मात्र उपप्रधानमन्त्री थिए । अहिले फेरि एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रचण्डले चार जनालाई उपप्रधानमन्त्री बनाएका हुन् ।  

अहिले एमालेबाट रघुवीर महासेठ, माओवादीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका छन् । सरकारमा सहभागी भएको एकीकृत समाजवादीबाहेक सबै दलले एक÷एक जना उपप्रधानमन्त्री पाएका छन् । मन्त्री मात्रै बन्दा पनि वरीयता तोकिने हुनाले उपप्रधानमन्त्री पद आवश्यक पर्दैन ।

उपप्रधानमन्त्रीहरूको काम पनि मन्त्रीहरूको भन्दा केही फरक हुँदैन । सचिवालय सुविधा र तलब भत्ता भने बढी हुन्छ । त्यही सुविधा र प्रतिष्ठाका लागि नेताहरू उपप्रधानमन्त्री पदका लागि जोड गर्छन् । यसअघि २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा छ जनासम्म उपप्रधानमन्त्री बनाइएका थिए ।