भोलि देखि जय नेपाल कप हुँदै

भोलि देखि जय नेपाल कप हुँदै

कैलालीको धनगढीमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता भोलि फागुन २८ गतेदेखि हुने भएको छ ।

 नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरुमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए ।

उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरुले प्रतियोगितामा भाग लग्न सक्ने छन् । २० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ । प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना खेलाडी अनिवार्य रुपमा क्याम्पस बाहिरको हाल्नुपर्ने उनले बताए ।

प्रतियोगितामा सहभागि हुनका लागि प्रवेश शूल्क २५ हजार कायम गरिएको छ भने बाहिरबाट आएको टीमले खान बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने सर्त राखिएको छ ।

सो प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।