पारस खड्का नेतृत्वको टिम लेजेन्ड्स कपको फाइनलमा

पारस खड्का नेतृत्वको टिम लेजेन्ड्स कपको फाइनलमा

बुटवल । पारस खड्काको कप्तानीमा रहेको टी-२० विश्वकप २०१४ ले लेजेन्ड्स कपको फाइनलमा पुगेको छ ।

सोमबार रुपन्देहीको तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सन् १९९६ लेजेन्ड्सलाई ५ विकेटले हराउँदै टी२० विश्वकप २०१४ को टिम फाइनलमा प्रवेश गरेको हो । फाइनलमा विश्वकप २०१४ टिमले ले रेस्ट अफ नेपाल र रुपन्देही लेजेन्ड्सबीचको विजेतासँग आज नै खेल्नेछ ।


जितको लागि ६८ रनको सामान्य लक्ष्य पछ्याएको विश्वकप २०१४ ले ९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । वीरेन्द्र शाहले २३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।

पारस खड्का ठूलो सट खेल्नेक्रममा नवौं ओभरको अन्तिम बलमा राजु खड्काबाट स्टेटमा ६ रनमा आउट भए । पारसले ४ बलमा १ चौका हाने । शरद भेषावकरले एक बल मात्रै खेल्दै विजयी छक्का हाने । जितेन्द्र मुखियाले ५ र शक्ति गौचनले ६ रन बनाए ।

१९९६ लेजेन्ड्सका लागि नेपालका सहायक प्रशिक्षक समेत रहेका बसन्त शाही ठकुरीले २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । किरण राणा र लेखबहादुर क्षेत्रीले १९१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको १९९६ लेजेन्ड्सले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ६७ रन बनायो । राजु खड्काले २० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । मनिषराज पाण्डे ११, जगत टमाटा ९, पुकार पन्त २, निरा राजोपाध्याय १, लेखबहादुर क्षेत्री ४, सञ्जय गुरुङ ३, बसन्त शाही ठकुरी २ र किरण रानाले १ रन बनाए ।

स्पिनर शक्ति गौचनले पहिलो ओभरमै दुई विकेट लिँदै २०१४ विश्वकप लेडेन्ड्सलाई राम्रो सुरुवात दिलाएका थिए । शक्तिले मुसफर इजाहर र पवन अग्रवाललाई शून्यमा आउट गरेका थिए । स्यामसन जंग थापाले सञ्जय गुरुङलाई ३ रनमा कट एण्ड बोल्ड आउट गरे ।

शक्ति गौचनले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । स्यामसन जंग थापाले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । बंद्री पंगेनी, दीपेन र ममता थापाले १/१ विकेट लिए ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा लेजेन्ड्स कप आयोजना गरिएको हो । सोमबार नै रेस्ट अफ नेपाल र रुपन्देही लेजेन्ड्सबीच खेल हुनेछ । त्यसपछि फाइनल हुनेछ ।