रेशम चौधरी कुनै दलको सदस्य बन्न योग्य छैनन् : निर्वाचन आयोग

रेशम चौधरी कुनै दलको सदस्य बन्न योग्य छैनन् : निर्वाचन आयोग

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई निर्वाचित गर्ने उक्त दलको महाधिवेशनको निर्णयलाई वैधता दिन नसकिने निर्वाचन आयोगले निर्णय गरेको छ ।

 चौधरी नाउपाको अध्यक्ष बन्नु राजनीतिक दलसम्बन्धी ऐन र उक्त पार्टीको विधान विपरीत भएको आयोगले ठहर गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य कुनै फौजदारी कसुरमा कैदको सजाय पाएको व्यक्तिलाई दलको सदस्य बनाउन नहुने व्यवस्था छ ।

 नैतिक पतन देखिने अन्य फौजदारी कसुर कुन–कुन हुन् भनेर प्रष्ट छैन । निर्वाचन आयोगले विगतको नजिर लगायतलाई आधारमा मानेर रेशमलाई नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको ठहर गरेको छ । रेशम ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा संलग्न भएको आरोपमा जन्मकैदको सजाय पाएका थिए ।

 जिल्ला अदालत कैलालीले गरेको फैसलालाई उच्च अदालत दीपायल र सर्वोच्च अदालतले पनि सदर गरेको छ । फैसलाले आफूलाई नैतिक पतनयुक्त भनी ठहर नगरेकाले राजनीतिमा सक्रिय हुन पाउनुपर्ने रेशम चौधरीको जिकिर थियो । तर निर्वाचन आयोगका अनुसार कुनै अपराध नैतिक पतन हुनका लागि कसुरदारको नैतिक आचरणसँग सम्बन्धित काम कसुर हो भनी आधार र वस्तुगत कारण हुनुपर्छ ।

 साथै घटनाका बेलामा कसुरदारको आपराधिक मनसाय वा उद्देश्य, परिस्थिति, अवस्थालाई समेत विचार गर्नुपर्ने भनी सर्वोच्च अदालतले विभिन्न नजीरमार्फत व्याख्या गरेको छ । सर्वोच्च अदालतले नै २ जेठ, २०८० मा टीकापुर घटनाको अन्तिम फैसला गर्दै भीडसमक्ष आत्मसमर्पण गरेर जीवनदानको भिख मागेका व्यक्तिलाई समेत लाठी, ढुंगा र बञ्चरो हानेर हत्या गरिएको भन्दै त्यसमा रेशम चौधरीको संलग्नता रहेको व्याख्या गरेको थियो ।

 ‘राष्ट्रपतिबाट सजायको माफी भएकै आधारमा ज्यानसम्बन्धी कसुरमा सजाय जन्मकैदको सजाय नपाएको भन्न सकिने अवस्था रहँदैन’, निर्वाचन आयोगको निर्णयमा भनिएको छ, ‘यसर्थ रेशमलाल चौधरीले जन्मकैदबाट माफी पाएकै आधारमा कुनै दलको सदस्य बन्न योग्य छन् भन्न सक्ने अवस्था रहेन ।’ रेशमलाई उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको फैसला सर्वोच्चले २ जेठ २०८० मा सदर गरेको थियो । तर १५ जेठमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको कैद मिनाहा गरिदिए ।

 जेलबाट छुटेपछि राजनीतिमा सक्रियता बढाएका उनी पुस अन्तिम साता कैलालीको टीकापुरमा भएको नाउपाको पहिलो महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।