नाउपाको बैठक स्थगित, मुख्यमन्त्रीलाई राहत

नाउपाको बैठक स्थगित, मुख्यमन्त्रीलाई राहत

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको हो । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमवार कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् ।

 तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी जनाइएको छ । पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिइन्, तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएकी थिइन् ।

 उनले सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही हुने चेतावनी दिएकी थिइन् । कतिपयले भने स्वास्थ्यमा समस्या देखिएका कारण बैठक स्थगित गरिएको भनिएपनि कारण भने फरक रहेको बताएका छन् ।

संस्थापक रेशमलाल चौधरीको पक्षमा अर्थात सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेकी हुन् भन्ने कतिपय नेताले बताएका छन् । 
 यता नाउपाको बैठक स्थगित भएसँगै सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई भने राहत भएको छ । उनले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पु¥याउने प्रयासलाई निरन्तरता दिएका छन् ।

यसअघि माओवादीबाट र समाजवादी पार्टीबाट मन्त्री भएकाहरुलाई बर्खास्त गरेपछि अल्पमतमा परेका मुख्यमन्त्री शाह आफु नेतृत्वको सरकारकालाई जुनसुकै हालतमा पनि टिकाई राख्ने प्रयासमा रहेका छन् ।