सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिने उद्योग मन्त्री भण्डारीको दाबी

सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिने उद्योग मन्त्री भण्डारीको दाबी

धनगडी। नेकपा एमालेका नेता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अस्वाभाविक गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिहरू बिचमा नयाँ गठबन्धन निर्माण गरिएको बताएका छन् । 

कैलालीको धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नीति र विचारमा समस्या भएको गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिहरूको गठबन्धन तयार भएको बताएका हुन् । उनले संविधान कार्यान्वयनसँग सम्बन्धित विषयवस्तुहरू प्रभावकारी कार्यान्वयन गर्दै लैजानुपर्ने दाइत्व नयाँ गठबन्धनमा आएको बताए ।

‘यति बेला एउटा गठबन्धन भत्किएको छ । त्यो अस्वाभाविक गठबन्धन थियो । नीतिमा समस्या रहेको , बिचारमा समस्या रहेको निश्चित केही स्वार्थमा केन्द्रित भएको गठबन्धन बिदा भएर एउटा परिवर्तनकारी शक्तिहरू बिचमा नयाँ गठबन्धन कायम भएको छ’ उनले भने ‘संविधान कार्यान्वयनसँग सम्बन्धित विषयवस्तुहरू प्रभावकारी कार्यान्वयन गर्दै लैजानुपर्ने छ । ’

अघिल्लो सरकारले जनजीविकाका सवारमा धेरै काम गर्न नसकेको उनले बताए । अहिले नयाँ गठबन्धनले निश्चित समय भित्र अहिलेका दाइत्वहरू पुरा गर्नुपर्ने अवस्था रहेको र यसलाई असफल हुने छुट नभएको पनि उनको भनाइ थियो । मन्त्री भण्डारीले आन्तरिक राजश्व सङ्कलन कम भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार विश्वासको मत पाउने समेत उनले बताए । 

‘सरकारले त्यसपछि प्राथमिकताहरू कार्यसूचीमा राखेर अगाडी लैजानु पर्छ ’ उनले भने म ‘उद्योग खानी र स्रोतसाधनको पहिचानमा आफ्नो ध्यान केन्द्रित गर्छु । ’

उनले आफूले अघिल्लो पटक अघि सारेका काम त्यही रहेको भन्दै यस अघि कुनै काम नभएको बताए । ‘सुख्खा बन्दरगाह जहाँ छोडेको थिए त्यही छ। कुनै प्रगति भएको छैन । छेला औद्योगिक क्षेत्र पनि जहाँ छोडेको थिए त्यही छ । कैलालीको हरैयामा निर्माण गर्ने भनिएको सेजको कार्यक्रम पनि अगाडी बढेको छैन’ उनले भने, ‘गत वर्ष १६ प्रतिशत भएको पुजिगत खर्च अहिले ५ प्रतिशतमा सीमित छ ।’

सुदूरपश्चिम प्रदेशको उत्पादनलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू कार्यविधि बन्न नसक्दा रोकिएको मन्त्री भण्डारीको भनाइ थियो । 

‘सुदूरपश्चिमका थुप्रै सम्भावना रहेका छन् । खानीहरू छन् चाँडै अध्ययन गरेर त्यसलाई अगाडी बढाउँछु’ उनले भने, ‘लगानीकर्ताहरूको लगानी सुनिश्चितका लागि पनि समस्या छ । त्यसको समाधानको लागि स्पष्ट नीति ल्याउनु पर्छ ।’

सरकारले चाँडै लगानी सम्मेलन मार्फत लगानीको वातावरण सृजना गर्ने र लगानी सम्मेलन सम्म केही महत्त्वपूर्ण कामहरू सम्पन्न गर्ने भन्दै लगानीको सुरक्षाको लागि स्पष्ट नीति निर्माण गर्ने र उद्योग मैत्री वातावरण निर्माण गर्ने उनले बताए । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिने उनले बताए । निजी क्षेत्रलाई सरकार भएको अनुभूति गराउने उनले दाबी गरे ।

उनले अघिल्लो पटक लेखराज भट्ट मन्त्री हुँदा विनियोजन गरेको बजेट पनि कार्यान्वयन नभएको बताए । फरक प्रसङ्गमा उनले नागरिक उन्मुक्ति पार्टीलाई पनि गठबन्धनमा सहभागी हुन र सरकारलाई साथ दिन आग्रह गरिएको जानकारी दिए