प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नाउपाका दुई फरक विज्ञप्ति (विज्ञप्ति सहित)

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नाउपाका दुई फरक विज्ञप्ति (विज्ञप्ति सहित)

 नागरिक उन्मुक्ति पार्टीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे दुुईथरी विज्ञप्ति आएको छ ।

यसले पार्टीभित्रको विवाद उत्कर्षमा पुुगेको बुझिएको कतिपयले बताएका छन् । पार्टीका संरक्षक रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे दुुईथरी विज्ञप्ति आएको छ । श्रेष्ठ पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्विप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

श्रेष्ठ पक्षले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, तर प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी सम्वाद अघि बढाउने भनेको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ । प्रदेश सभामा नागरिक उन्मुक्तिका सात सांसद छन् । चौधरी पक्ष कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दै कमलबहादुर शाहलाई नै मुख्यमन्त्रीमा निरन्तरताको अडानमा छ ।

उन्मुक्तिका सातमध्ये पाँच जना सांसद प्रदेश सरकारमा मन्त्री भैसकेका छन् । अध्यक्ष श्रेष्ठले भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नरहेको बताउँदै सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी भएपनि उनको निर्देशन कार्यान्वयन हुन सकेको छैन । यसरी छोटो समयमै राम्रो जनमत पाएको पार्टीबीच विवाद देखिनु सुखद पक्ष नभएको भन्दै नागरीक उन्मुक्ति पार्टीका सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।