मन्दिरको मूर्ति तोडफोड गर्ने एकजना पक्राउ

मन्दिरको मूर्ति तोडफोड गर्ने एकजना पक्राउ

जनकपुरधाम । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलिमिलिया मन्दिरको मूर्ति तोडफोडको व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । बुधवार बैठालाई सर्लाही प्रहरीले पक्राउ गरी धर्म सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको छ ।

सर्लाहीका प्रहरी प्रमुख एसपी श्याम कुमार महतोले घटनास्थलमा रहेको सबुत प्रमाणको आधारमा बैठालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार मंगलवार राति मूर्ति तोडफोड गरिएको थियो ।

प्रहरीले जिल्ला अदालत मलंगवाबाट दिन ५ दिनको म्याद थप गरी बैठामाथि अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ ।

मन्दिरमा मूर्ति तोडफोडको विरोधमा स्थानीयले मलंगवा बजार बन्द गराएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउने कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।