देशभरका प्रजिअलाई तीन महिनाभित्र सबै सूचकमा सुधार ल्याउन गृहमन्त्रीको निर्देशन

देशभरका प्रजिअलाई तीन महिनाभित्र सबै सूचकमा सुधार ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

बिहीबार साँझ गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए ।

“गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ । गृहमन्त्रीका रुपमा नागरिकका पक्षमा, आशा जगाउने गरी काम गर्नेछु”, गृहमन्त्री लामिछानेले भने ।

समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उनले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गरे ।

उनले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न निर्देश गरे ।अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने बताए ।

सो अवसरमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका छन।