गौरीगङ्गा गोल्ड कपको उपाधि स्टार सिटीलाई

गौरीगङ्गा गोल्ड कपको उपाधि स्टार सिटीलाई

धनगढी । स्टार सिटी क्लब धनगढीले गौरीगङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हिजो भएको फाइनल खेलमा फारवेष्ट पशुपति यूथ क्लबलाई ५–० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्लब प्रतियोगिताको च्याम्पियन बनेको हो । गत संस्करणको उपविजेता स्टार सिटीले यस पटक उपाधि जित्न सफल भएको हो । 

उपाधि सहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो । उनले फाइनल खेलमा चार गोल गरे । खेलको आठौँ मिनेटमा पहिलो गोल गरेका उनले २० औँ मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए । कमलले ६२ औँ मिनेटमा व्यक्तिगत चौथो गोल पुरा गरेका थिए । खेलको ७९ औँ मिनेटमा भूपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए । फाइनल खेलमा चार गोल गरेका कमल प्लेयर अफ द म्याच घोषित भए । 

विधागततर्फ फार वेस्टका अमानत शेख उत्कृष्ट गोलकिपर, स्टार सिटीका नरेन्द्र चौधरी उत्कृष्ट डिफेन्डर, स्टार सिटीका कमल देउवा उत्कृष्ट फरवार्ड, स्टार सिटीका अविनाश थापा उत्कृष्ट मिडफिल्डर घोषित भए ।

गौरीगङ्गा ११ का नीराजन धामी उदयमान खेलाडी घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको चौथो संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजक गौरीगङ्गा ११ क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।