नारायणकाजीले सुन काण्डमा मुछिएकालाई बचाउन खोजेको उजागर भयो: अजयबाबु शिवाकोटी

नारायणकाजीले सुन काण्डमा मुछिएकालाई बचाउन खोजेको उजागर भयो: अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा मुछिएकाहरूलाई जोगाउन खोजेको कुरा अहिले उजागर भएको बताएका छन्।

मुख्य पात्र र तिनका संरक्षकलाई कसरी बचाउने खेल भएको रहेछ भन्ने अहिले देखिएको उनले बताए।

‘सुन तस्करी प्रकरणको छानबिन गर्न पूर्वन्यायाधिश डिल्लीराज आचार्यको नेतृत्वमा गठित समितिले गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनपछि यो प्रकरणमा कसरी मुख्य पात्र र तिनका संरक्षकहरुलाई बचाउन खेल भएको रहेछ भन्ने उजागर भएको छ,’ शिवाकोटीले भने, ‘सुन तस्करी प्रकरणमा अनुसन्धानमा लापरवाही गर्ने सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस भएबाट पनि उनलाई अनुसन्धानमा कम्प्रोमाइज गर्न क-कस्ले दबाब दिएका थिए वा उनी आफैँले मोलाहिजा राखेकी थिइन खुल्दै जाला।’

उनले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नालाई बचाउन भूमिका खेलेको विषय भने अहिले उजागर भएको बताएका छन्।

‘श्रेष्ठले चलाएको गृह प्रशासनले आफ्नालाई काखा र अरुलाई पाखा गर्दा सुन तस्करीको आरोपित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको परिवारलाई उन्मुक्ति दिइएको, पूर्व सभामुख कृष्णबहादुर महरालाई सामान्य सोधपुछ पछि उन्मुक्ति दिइएको, सुन तस्करीमा आरोपित अर्थमन्त्री वर्षमान पुनलाई अनुसन्धानको दायरामै ल्याइएन,’ उनले भने, ‘बरु सिआइबीको नियन्त्रणमा आएका सुन तस्करीका बिचौलिया जीवन चलाउनेको बयान च्यातेर, प्रमाण नष्ट गराएर नयाँ बयान दिन लगाइ फरार गराइयो। चलाउनेले नाम लिएका भनिएका पूर्वआइजीपी तथा एमाले नेता सर्वेन्द्र खनाललाई अनुसन्धानमै उन्मुक्ति दिलाउन समेत नारायणकाजीको शंकास्पद भूमिका देखिएको छ।’

नयाँ गठवन्धन बन्दा पनि श्रेष्ठ गृहमै बस्न मरिहत्ते गरिरहेको पछाडीको मुख्य कारण अपराधमा संलग्न आफ्नालाई बचाउने रहेको देखिने शिवाकोटीको दाबी छ। 

‘आफ्नाहरु एकपछि अर्को सुन तस्करीमा जोडिदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु नयाँ गठबन्धन बनाउन लाग्नु र नयाँ गठवन्धन बनाउन जिम्मेवारी पाएका तथा सुन तस्करीमा नाम जोडिएका वर्षमान पुनलाई अर्थ मन्त्रालयमा ल्याउनु यो पक्कै संयोग हैन। सुन तस्करीमा संलग्न कतिपय अहिले पनि भन्सारको हिरासतमा छन् भने एक जना आरोपित बर्षमान पुन भन्सार विभाग कार्यक्षेत्र रहेको अर्थ मन्त्रालयको नेतृत्वमा छन्। सहजै अनुमान गर्न सकिन्छ यो अवस्थामा भन्सार विभागले कस्तो अनुसन्धान गर्ला र कारबाही होलारु,’ उनको प्रश्न छ।