रुपन्देही। रुपन्देहीमा सवारी दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा परी रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावा मालपोत कार्यलयमा कार्यरत रहनु भएको थियो ।
राती करिब ८:५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालक रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले जानकारी दिए।
प्रहरी निरीक्षक बिष्टका अनुसार दुर्घटनाबाट घाइते रावतलाई तत्कालै सिद्धार्थनगर सिटी हस्पिटल पुर्याएको र चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
कारचालक लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का ५३ वर्षिय अलाउद्दिन मुसलमान र कार प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।