बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।

राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले प्रहरीको तैनाथी बढाइएको विषयमा पनि विरोध गरेका छन् ।

शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो ।

घटना हुलाकी राजमार्गमा भए पनि गढवा चौकीमा भएको वार्तामा कुरा नमिलेपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।