जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई निजी विद्यालयमा पढाउन नपाउने

जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई निजी विद्यालयमा पढाउन नपाउने

काठमाडौँ । खोटेहाङ गाउँपालिकाले सरकारी कर्मचारी, शिक्षक तथा निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई निजी विद्यालयमा पढाउन नपाउने सोमबार सूचना जारी गर्दै गाउँपालिकाबाट तलव, भत्ता लगायतका आर्थिक सुविधा प्राप्त गर्नेहरूले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन नपाउने र उनीहरुले अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम बनाएको हो ।

गत चैत ८ गतेको गाउँकार्यपालिकाको बैठकले सबै प्रकारका कर्मचारी, शिक्षक तथा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूलाई आगामी शैक्षिक सत्र २०८१ मा आफ्ना बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

शिक्षा समितिका संयोजक तथा खोटेहाङ गाउापालिका–६ इन्द्रेणीपोखरीका वडाअध्यक्ष वसन्त राईका अनुसार सामुदायिक विद्यालयहको गुणस्तर सुधारका लागि यो नीति अवलम्वन गरिएको हो ।

यसको कार्यान्वयनका लागि राजनीतिक दल, नागरिक समाज, शिक्षाप्रेमी लगायत सरोकारवालाहरूसमक्ष अपिल समेत गरिएको राईले सुनाए ।

यदि कसैले यसको उल्लंघन गरे सम्वन्धित व्यक्तिको तलव, भत्ता लगायतका सेवा सुविधा रोकिने समेत गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।