गरगहना लुटपाटपछि दम्पतीको हत्या

गरगहना लुटपाटपछि दम्पतीको हत्या

पर्वत । पर्वतको जलजला गाउँपालिका-२ मा गरगहना तथा नगद लुटपाटका लागि दम्पतीको हत्या गरिएको पुष्टि भएको छ। 

पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताए। उनका अनुसार हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन्। मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको पाइएको छ। सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको जस्ता दृश्यले लुटपाटकै कारण हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक भुसालका अनुसार मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ । धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरिएको उनले बताए। 

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै आएका थिए। जिसीका दुई छोरा दक्षिण कोरियामा छन्। जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन्। यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।