के तपाई बियर पिउनु हुन्छ ? आउन सक्छ यस्ता समस्या

के तपाई बियर पिउनु हुन्छ ? आउन सक्छ यस्ता समस्या

काठमाडौँ । नेपालमा मात्रै होइन विश्वभर नै धेरैले रुचाउने हल्कोहोलिक पेय पदार्थ हो बियर । साथीभाइसँग ‘चिल’ गर्न, दिनभरिको थकान मेट्न पनि पछिल्लो समय बियर पिउनेहरूको सङ्ख्या बढेको छ । नियमित बियर सेवनबारे कयौँ अध्ययन भएका छन् । केही अध्ययनले दिनहुँ बियर सेवन मुटुको लागि निकै फाइदाजनक भएको पनि भनेका छन् । तर सधैँ बियर पिउनु भनेको आफ्नो शरीरलाई रोगको घर बनाउनु हो ।

नियमित रूपमा बियर सेवन गर्नु भनेको निश्चित खालको क्यान्सर, मुटुसम्बन्धी रोग, कलेजोको रोग निम्त्याउनु हो, अनि चाँडै काललाई निम्ता दिनु पनि हो ।बियरमा धेरै मात्रामा क्यालोरी हुन्छ । ३५५ एमएल नियमित खालको बियरमा १५३ क्यालोरी हुन्छ । यसको नियमित सेवनले तपाई मोटोपनाको सिकार बन्न सक्नु हुनेछ । तौल कम गर्न खोजिरहेकाहरूका लागि त झन् बियर सेवन घातक हुन सक्छ ।

हरेक पटक तपाईँले बियर खाँदा यो सिधै लिभरमा पुग्छ । शरीरसँग रक्सी थुपारेर राख्ने क्षमता हुन्न । यसले समग्र फ्याट बर्निङ प्रक्रियालाई सुस्त पार्छ । लिभरले निश्चित मात्रामा मात्रै रक्सी ह्यान्डल गर्न सक्छ । दिनहुँ बियर पिउँदा यसले स्थायी क्षति गराउन सक्छ ।

दैनिक बियर सेवन गर्दा डिहाइड्रेशनको सिकार भइनेछ । डिहाइड्रेशनका कारण छालासम्बन्धी समस्याहरू पनि आउँछन् । यसको असर रोग प्रतिरोधात्मक क्षमतामा पनि देखिन्छ । नियमित रूपमा बियर पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बारम्बार स्वास्थ्य समस्या आइरहन्छ । यसले पाचनसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ । यसले क्रोनिक डिजिजको जोखिम पनि बढाउँछ ।

धेरै बियर पिउनु भनेको मधुमेह र उच्च रक्तचापलाई निम्त्याउनु हो । यसको असर कलेजो र मिर्गौलामा पनि देखिन्छ । सधैँ बियर पिउँदा मुख, गाला र घाँटीको क्यान्सरको खतरा निम्तन सक्छ । कयौँ अनुसन्धानहरूले यो कुरा पनि देखाइसकेका छन् ।

नियमित बियरको सेवनले महिला र पुरुष दुबैमा अस्थी खनिज घनत्व बढाउने गरेको २०२१ मा प्रकाशित एउटा अध्ययनले देखाएको थियो । सधैँ बियर खाँदा निद्रामा पनि खलल उत्पन्न हुन सक्छ । रक्सीको मातले मस्तिष्कको दीर्घकालीन स्वास्थ्य प्रभावित बनाउन सक्छ ।