किन हराए एसइई दिने ३७ हजार विद्यार्थी अभिभावक भन्छन राज्यले खोजी नै गरेन

किन हराए  एसइई दिने ३७ हजार विद्यार्थी अभिभावक भन्छन राज्यले खोजी नै गरेन

यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई चैत १५ बाट २०८० सालको एसइई परीक्षा शुरू भएको थियो। साधारणतर्फको नियमित विषयका परीक्षा भने गत शुक्रबार नै सकिएका थिए। प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म थिए। 

योपटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको जानकारी दिए। उनका अनुसार प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षामा अनुपस्थित रहे। उक्त परीक्षामा देशभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन्। 
 
यसरी परीक्षामा परीक्षार्थीहरू अनुपस्थित भएको यो वर्षमात्रै होइन। वर्षेनि एसइई परीक्षाका लागि फाराम भर्ने तर परीक्षा भने नदिने गरेका छन्। यो संख्या झनै बढ्दो छ।

२०७७ सालको एसइई परीक्षामा फाराम भरेकामध्ये १३ हजार ९० जना परीक्षामा अनुपस्थित थिए। यसैगरी २०७८ सालको एसइईमा पाँच लाख १४ हजारमध्ये चार लाख ९५ हजार ७५१ जना मात्रै सहभागी भए। २२ हजार ६४० जना परीक्षार्थीले एसइई परीक्षा दिएनन्। यो संख्यालाई प्रतिशतलाई हेर्दा ४।५७ प्रतिशत पुग्छ। 

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार गत वर्षको एसइई परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए भने १३ हजार ९९२ परीक्षार्थी अनुपस्थित थिए। यो वर्ष बढेर परीक्षामा अनुपस्थित हुनेको संख्या ३७ हजार पुगेको छ। 


परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक पौडेल बढी वैकल्पिकमा जाँदा यसरी विद्यार्थीहरू एसइई परीक्षा दिनबाट गायब भएको बताउँछन्। ‘पहिलो त बढी उमेर समूहकाले पछि समस्या नपर्ला एसइई परीक्षा दिन्छु भनेर फाराम भर्छन् उनले भने, ‘एक्जाम आएपछि भने मर्यादित हुने कुरा लगायत उहाँहरूको आन्तरिक कारण पनि परीक्षा दिँदैनन्।

उनी अर्को कारणमा परीक्षार्थीहरू बिदा नपाएकाले पनि परीक्षामा उपस्थित हुन नसकेको बताउँछन्। उनले भने परीक्षा फाराम भरे पनि पछि आर्मी, प्रहरीहरूलाई बिदा मिल्दैन, त्यही भएर पनि परीक्षा दिन पाएनन्।