छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

काठमाडौँ । अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्रिया नै गर्छन्।

यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन्। किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ।

खासमा जवान रहन खासै खर्च वा शल्यक्रिया गर्नु पर्दैन, हामीले आफ्नो जीवनयापनको शैली र भोजनमा ध्यान दिए पुग्छ। हाम्रो शरीर र मस्तिष्कमा हामीले खाने भोजनकै सबैभन्दा बढी प्रभाव पर्छ। जसको तुलनामा कुनै लोसन वा क्रिमको प्रभाव नगन्य हुन्छ।

छाला किन चाउरी पर्छ ?
छाला चाउरी पर्नुका मुख्य दुई कारण छन्। पहिलो हो घामले गर्ने क्षति र दोस्रो उमेरअनुसार आउने परिवर्तन।

छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्छ। तर, निरन्तर घाम पर्नाले कोलाजेनको मात्रा घट्छ। यसको मात्रा घटेसँगै छाला चाउरी पर्न थाल्छ। यसका साथै उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ। यसपछि छाला फेरि पुरानै अवस्थामा फर्काउन कठिन हुन्छ।

सुरुमा हाम्रो आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ। किनभने यी सबै ठाउँ खुला हुने भएकाले घाम नियमित रुपमा परिरहेको हुन्छ। त्यसपछि प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला छिटै चाउरी पर्न थाल्छ।

भोजनले छालालाई कसरी जोगाउँछ ?
छालामा भोजनले पार्ने प्रभावबारे विभिन्न अनुसन्धान गरिएका छन्। सन् २००१ मा गरिएको एक अध्ययनले छाला चाउरी पर्ने कारणबारे अनौठो तथ्य पत्ता लगाएको थियो । 

तीन बेग्लाबेग्लै देशमा गरिएको अध्ययनले छाला चाउरी पर्नबाट जोगाउन प्रचुर एन्टिअक्सिडेन्टयुक्त तथा घामबाट पर्ने नकारात्मक प्रभाव जोगाउने भोजन र चिल्लो पदार्थ आवश्यक पर्ने निष्कर्ष निकालेको थियो।

कतिपय खानेकुरा यस्ता छन्, जुन हाम्रो समग्र स्वास्थ्यका लागि ९छालासमेत० अत्यन्त फाइदाजनक हुन्छन्। अझ एन्टी अक्सिडेन्टयुक्त खानेकुराले शरीरबाट फ्रि र्‍याडिकल घटाउन सघाउँछन्। फ्रि र्‍याडिकलले छालामा क्षति पुर्‍याउनुका साथै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि निम्त्याउँछ।

यसबाहेक छालामा चाउरी पार्ने प्रमुख कारण घाम नै भएकाले छालामा कोलाजेन कायम राख्ने र घामको प्रभाव घटाउने खानेकुरा उपयोगी हुन्छन्।

केही खानेकुरामा पाइने फ्याट पनि छालाको मोस्चराइजर कायम राख्न आवश्यक हुन्छ।

छालालाई चाउरीबाट जोगाएर ताजगी बनाइराख्न हाम्रो भोजनमा यी खानेकुरा समावेश गर्न आवश्यक छ।

गेडागुडी
गेडागुडी परिवारमा बोडी, सिमी, दाल, चना, केराउ जस्ता खानेकुरा पर्छन्। गेडागुडीमा रेशा ९फाइबर०, प्रोटिन र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ, छालाका लागि निकै लाभदायक हुन्छ। यसले पाचन प्रणालीमा जाने दुषित टक्सिनलाई छालाले सोस्नु अगाडि नै शरीरबाट निष्कासन गर्छ।

गेडागुडी भिटामिन ई र सीको अत्यन्त राम्रो स्रोत हो। यी दुवै भिटामिनले छालालाई घामका पराबैजनी (अल्ट्रा भ्वाइलेट) किरणबाट जोगाउँछन्। दुवै भिटामिन एकसाथ उपभोग गर्दा एन्टी अक्सिडेन्ट शक्ति दोब्बर जस्तै बढ्छ। एन्टिअक्सिडेन्ट पाइने खानेकुराले हाम्रो पूरै शरीरलाई पोषण दिनुका साथै छालालाई पनि स्वस्थ राख्छ। तर, यसको अर्थ यी भिटामिनको उपयोग गरेपछि सनस्क्रिन लगाउनै पर्दैन भन्ने होइन।

अन्य खानेकुराको तुलनामा गेडागुडी सस्तो, विविध भिटामिनयुक्त र पकाउन सजिलो हुन्छ। एकै खालको गेडागुडी खानुभन्दा धेरै खालका रंगीन मिसाएर खानु उपयुक्त हुन्छ। दिउँसोको खाजामा गेडागुडी र बदामसमेत समावेश गर्नु राम्रो हुन्छ। सातामा २/४ पटक गेडागुडी खाए छालाका लागि पर्याप्त पोषण प्राप्त हुन्छ।

बोडी, सिमी र दाल सातामा केही पटक खाने गरे प्रोटिनका लागि बेग्लै खानेकुरा खाइरहनु पर्दैन।

भिटामिन सीयुक्त खानेकुरा
भिटामिन सीको मात्रा धेरै भएका खानेकुराले छालाको सुख्खापन र चाउरीपना घटाउँछ। भिटामिन सी एन्टिअक्सिडेन्ट भएकाले यसले चाउरी निम्त्याउने अक्सिडेटिभ असर कम गर्छ। अक्सिडेटिभ असर पोषणयुक्त भोजनको कमी, तनाव र प्रदुषणका कारण पनि हुनसक्छ। त्यसैगरी घामले छालामा पार्ने नकारात्मक असरबाट समेत भिटामिन सीले जोगाउँछ।

सामान्यतया सबै फलफूल र तरकारीमा भिटामिन सी पाइन्छ। तर, भिटामिन सी धेरै पाइने खानेकुरामा कागती, सुन्तला, भोगटे, ज्यामिर, निबुवा, जुनार, स्ट्रबेरी र भेडे खुर्सानी हुन्।

भिटामिन एयुक्त खानेकुरा
भिटामिन एयुक्त खानेकुराले पनि छालालाई चाउरी पर्नबाट जोगाउँछन्। भिटामिन ए बिटा–क्यारोटिन र सक्रिय भिटामिन ए गरी दुई स्वरुपमा पाइन्छन्। बिटा–क्यारोटिन अधिकांश पहेंला फलफूल, तरकारीमा पाइन्छ भने सक्रिय भिटामिन ए अण्डा, कलेजो र नौनी जस्ता मांसाहारी भोजन र दुग्धजन्य पदार्थमा पाइन्छ।

भिटामिन ए शरीरका करिब सबै ठाउँका छालाका कोषले उपयोग गर्छन्। भिटामिन ए नभए शरीरमा लागेका घाउ, चोटपटक, खटिरा लगायत निको हुँदैन। यसले छालाका कोषहरूलाई आपसमा खाँदिन सघाउँछ, फलस्वरुप चाउरीपना घट्छ।

भिटामिन ए छालामा दुई तरिकाले उपयोग हुन्छ। पहिलो भोजनबाट पाउने र अर्को क्रिम ९रेटिनोल० का रुपमा सीधै छालामा लगाउने। यो क्रिम चर्मरोग विशेषज्ञले प्रेस्क्राइब गर्छन्। तर, तपाईंले प्रचुर भिटामिन एयुक्त खानेकुरा खाएपछि चर्मरोग विशेषज्ञकोमा जानै पर्दैन। यसका लागि हामीले दिउँसोको खाजामा केही गाजर वा ब्रेकफास्टमा दुई/तीन वटा अण्डा समावेश गरे दैनिक भिटामिन एको पूर्ति हुन्छ।

जैतुनको तेल
छाला सुख्खा भयो भने पनि छिटै चाउरी पर्छ। किनभने सुख्खा भएपछि छालाले मोइस्चर राख्न सक्दैन र झोल्लिन थाल्छ। पानीको मात्रा बढाए छालालाई केही मात्रामा मोस्चराइज त गर्छ, तर उपयुक्त फ्याट चिल्लो पदार्थ) भएको भोजन नगरुन्जेल छालाका कोषले आफूसँग पानी जम्मा गर्न सक्दैनन् र छाला सुख्खा भइरहन्छ।

जैतुनको तेलले छालालाई दुई प्रकारले सघाउँछ। यसले पानी जम्मा गर्न छालालाई स्वस्थकर चिल्लो पदार्थ उपलब्ध गराउनुका साथै यो उत्तम एन्टिअक्सिडेन्ट पनि हो। यसमा अन्य वनस्पतिबाट प्राप्त हुने तेलभन्दा निकै बढी भिटामिन ई पाइन्छ। साथै, भिटामिन ए र ल्युटिन जस्ता एन्टी अक्सिडेन्ट पनि जैतुनको तेलमा पाइन्छ। यी सबै पोषणले छालालाई नरम बनाइराख्छ।

सलाद बनाउँदा वा अन्य परिकारमा पनि जैतुनको तेल प्रयोग गर्नुहोस्। खानेकुरा हलुका तार्नु परे पनि थोरै तापक्रममा यसको प्रयोग गर्न सकिन्छ। तर, जैतुनको तेलमा खानेकुरा डिप फ्राई भने गर्नु हुँदैन। किनभने धेरै तताउँदा यसमा भएका स्वस्थकर फ्याट नष्ट हुन्छ। जैतुनको तेल पूर्णतया स्वस्थकर भए पनि यसमा क्यालोरी पनि धेरै हुन्छ। त्यसैले भोजन पकाउँदा वा सलादमा प्रयोग गर्दा एक वा दुई ठूलो चम्चा हाले पर्याप्त हुन्छ।

पोटासियमयुक्त खानेकुरा
पोटासियम सामान्यतया फलफूल र सागसब्जीमा पाइने इलेक्ट्रोलाइट हो। हाम्रो शरीरका कोषहरूमा तरल पदार्थको मात्रा सन्तुलित राख्न पोटासियमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले शरीरमा पानीको मात्रा घटाउने सोडियमको प्रभाव न्यून पार्छ र कोषमा पानीको मात्रा सन्तुलित राखेर छाला नरम र चाउरीरहित हुन्छ।

फलफूल र तरकारी धेरै खाएर आप्mनो शरीरलाई आवश्यक पोटासियमको मात्रा पूर्ति गर्न सकिन्छ। पालुंगो, केरा र एभोकाडोमा सर्वाधिक पोटासियम पाइन्छ। हामीले नुनको मात्रा धेरै भएका भोजन गर्ने भएकाले सोडियमले डिहाइड्रेसन गराउनुका साथै छाला चाउरी पार्छ। त्यसैले सोडियमको सामना गर्न र छाला चाउरी पर्नबाट रोक्न पोटासियमयुक्त खानेकुरा पर्याप्त उपभोग गर्नु आवश्यक छ।

माछा
प्रचुर मात्रामा ओमेगा–३ पाइने भएकाले माछा छाला र स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो। छाला मोस्चराइज्ड राखेर चाउरी पर्नबाट जोगाउन ओमेगा–३ अत्यावश्यक प्mयाट हो। ओमेगा–३ ले हाम्रो शरीरका कोषमा तरलता कायम राख्ने तथा शरीरमा हुने दुखाइ र पोलाइ घटाउने भएकाले छाला सुख्खा हुन दिँदैन। छाला चिल्लो र चमकदार राख्नु छ भने सातामा कम्तीमा दुई÷तीन पटक ताजा माछा भोजनमा सामेल गर्नुहोस्। साल्मन, मकरेल, सार्डिन, अल्बाकोर र टुना माछामा सर्वाधिक ओमेगा–३ पाइन्छ।

प्रोटिनयुक्त खानेकुरा
छाला स्वस्थ राख्न पर्याप्त प्रोटिन आवश्यक पर्छ। हाम्रो छाला प्रोटिनबाट निर्माण भएकाले भोजनमा पर्याप्त प्रोटिन नभए छालाका कोषहरू सुख्खा तथा मृत हुन्छन्। कोष जति चाँडो फेरिन्छन्, त्यति नै छाला पनि चमकदार र जवान देखिन्छ। कुखुराको मासु, माछा, अण्डा, गेडागुडी, दाल र दुग्धजन्य पदार्थमा प्रचुर प्रोटिन पाइन्छ। स्वास्थ्यखबरबाट