सीमा क्षेत्रमा किन हुन्छ सशस्त्र प्रहरीमाथि आक्रमण

सीमा क्षेत्रमा किन हुन्छ सशस्त्र प्रहरीमाथि आक्रमण

नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । मोरङको रतुवामाई नगरपालिका १ सोनापुरस्थित सीमा नाकामा सीमा सुरक्षा गुल्म बरडंगाबाट खटिएका सहस्त्र प्रहरी हबलदार युवराज तामाङमाथि आक्रमण भएको हो ।

बिहीबार ४ जनाको गस्ती टोलीलाई पोस्टभन्दा ७ सय मिटर पूर्वमा रहेको सहायक सीमा स्तम्भ नं। १५७÷१ नजिक भारतबाट अवैध रूपमा दुईवटा साइकलमा नेपाल ल्याउँदै गरेको धान नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच भनाभन भएको थियो ।

दुवै पक्षबीच विवाद भएपछि रतुवामाई १ सोनापुर बस्ने साबर मियाले प्रहार गरेको ढुंगाबाट तामाङको टाउकामा गम्भीर चोट लागेको छ । उनलाई तत्काल अस्पताल लगी उपचार भइरहेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजी कार्य तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।

तस्कर समूहले ड्युटीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको यो नै पहिलोपटक भने होइन । यसअघि पनि नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ ।

सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा काम गर्नु चुनौतीपूर्ण रहेको छ । नेपालमा सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ ।

सीमा सुरक्षा र सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्नु सशस्त्रको दायित्व हो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा कानुन पालना गर्नु सशस्त्रको दायित्व हो । त्यसैले सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ ।

तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरीलाई तारो बनाएको सशस्त्र प्रहरी अधिकारीको भनाइ छ । कहिलेकाहीँ सीमा नाकाबाट दैनिक उपभोग्य समान ल्याउँदा सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको आरोप पनि सशस्त्रमाथि लाग्ने गरेको छ ।