मुख्यमन्त्रीमा नाउपाबाटै दुई जनाको दाबी परेपछि के गर्दै छन सुदूरपश्चिमका प्रदेश प्रमुख

मुख्यमन्त्रीमा नाउपाबाटै दुई जनाको दाबी परेपछि के गर्दै छन सुदूरपश्चिमका प्रदेश प्रमुख

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले दलहरूलाई बहुमतका आधारमा दाबी पेस गर्न दिएको समयसीमाको अन्तिम दिन आइतबार एउटै पार्टीबाट दुई जना नेताको दाबी परेको छ । 

नागरिक उन्मुक्ति पार्टीका सांसदहरू कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा आइतबार दाबी पेस गरेका छन् । कैलाशलाई एमाले र माओवादी केन्द्रको समर्थन छ भने लक्ष्मणकिशोरलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थन छ । यसरी एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले परामर्श गरिरहेका छन् । 

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले दुईवटा दाबी परेपछि प्रदेश प्रमुख छलफलमा रहेको जानकारी दिए । उनले भने दुईवटा दाबी पेस भएको छ । दलहरूसँग छलफल गरिरहनुभएको छ ।

यसैबीच नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश प्रमुखलाई भेटेकी छिन् । यसरी दुई दाबी परेपछि प्रदेश प्रमुख तत्काल निर्णय नगरी केही समय लिएर निर्णय दिने पक्षमा रहेको स्रोतले बतायो । 

यसरी दाबी पेस गर्दा नाउपाका दुवै नेताले आफ्ना ६ जना सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठनिकट कैलाशले आफ्दो दाबी आधिकारिक रहेको बताएका छन् भने रेशम चौधरीनिकट लक्ष्मणकिशोरले आफूलाई आधारिक संसदीय दलका नेता घनश्याम चौधरीले समर्थन गरेको बताएका छन् ।