एसीसी प्रिमियर कप : आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कप : आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा लगातार दुई खेलमा विजयी नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार हुने हङकङसँगको भिडन्त बिहान ११:४५ बजे सुरु हुँदैछ। दुई खेलमा चार अंक जोडेको नेपाल लगातार तेस्रो जितका लागि मैदानमा हुनेछ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो।

शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए। आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए। सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित नटआउट १९ रन बनाए।

कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। सन्दीप जोरा १२ रनमा नट आउट रहे। मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एक(एक विकेट लिए।

टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट हात पारे। शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो।