अमेरिकाको तलाउमा ६० वर्षअघि हराएको औंठी फेला

अमेरिकाको तलाउमा ६० वर्षअघि हराएको औंठी फेला

अमेरिकाको म्यासाचुसेट्समा बस्ने एक दम्पतीले ६० वर्षअघि हराएको औंठी भेटिने कुरा सपनामा पनि चिताएका थिएनन् होला ।

बोस्टनमा बस्ने एक स्कुबा डाइभर लुक बेरुब मेटल डिटेक्टर लिएर तलाउ र समुद्रको गहिराइमा पुग्ने गरेका छन् । त्यहाँ गएर उनी बहुमूल्य धातुहरू खोज्छन् । 

बेरुबले स्कुबा डाइभिङका लागि शहरको ह्यान्सनस्थित तलाउमा पस्दा सन् १९६० को एक औंठी फेला पारे । बेरुबका अनुसार, सुनको औंठीमा अघिल्तिर शहरको एक विद्यालयको नाम छापिएको थियो । अनि डब्ल्यूजेडब्ल्यू अक्षर खोपिएको थियो । 

बेरुब घर फर्केपछि स्कूलका बारेमा खोजियो । औंठीमा पहिचान खुल्ने अक्षर भएकाले सही मालिकसम्म औंठी पुर्‍याउन चाहन्थे उनी । 

गेट अफ हेभन स्कूलहरूको पूर्व छात्रहरूको एक फेसबूक पेज जोइन गरेर उनले औंठीको कुरा झिके । बोस्टनमा बस्ने विलियम जोसेफ वेडलकी छोरी क्रिस्टिनले पोस्ट देखिन् र औंठीको तस्वीर पितालाई देखाइन् । ७७ वर्षीय जोसेफले देख्नेबित्तिकै औंठी चिने । 

क्रिस्टिनका अनुसार, उनले औंठी चिनेपछि बेरुबसँग सम्पर्क गरिन् । पिता जोसेफले आफ्नी प्रेमिकालाई औंठी दिएको र उनले त्यो हराएको उनले बताइन् । त्यसपछि बेरुबले जोसेफलाई औंठी सुम्पिए । 

बेरुब विगत १२ वर्षदेखि डाइभिङ गरिरहेका छन् । मेटल डिटेक्टर लिएर भने उनले चार वर्षअघि मात्र डाइभिङ गर्न थालेका हुन् । 

उनले १०० वटा औंठी जम्मा पारिसकेका छन् । धेरैजसो औंठीका मालिक पत्ता नलागेकाले फर्काउन नसकिएको उनी बताउँछन् ।