धनगढी– सुदूरपश्चिम प्रदेश सभाको आइतबारका लागि तोकिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
आइतबार बिहान ८ बजे शुरु हुने भनिएको बैठकमा प्रतिपक्षी सांसदहरुले अवरुद्ध गर्ने संकेत पाइएपछि सभामुख अर्जुन बहादुर थापाको निर्देशनमा प्रदेश सभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो । यस अघि बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगित गरिएको थियो ।
असार १ गते प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेट प्रस्तुत गर्दै बिनियोजन विधेयक टेबुल गरेपछि आह्वान गरिएको असार ५ गते बिहीबारको बैठकमा बजेटको विरोध गर्दै प्रतिपक्षी सांसदहरुले अवरोध गर्दै रातो किताब जलाएका थिए । बजेटका सम्बन्धमा सरकार प्रतिपक्षीवीच संवाद भई समाधान निस्कने र सोही आधारमा आइतबार बैठक संचालन गर्ने अपेक्षा सहित सभामुख थापाले बिहीबारको बैठक स्थगित गर्नुभएको थियो । तर यसवीचमा सरकार र प्रतिपक्षी दलवीच कुनै संवाद भएन । संवाद नभएरपछि आइतबारको बैठकमा पनि प्रतिपक्षीको अवरोध रहने संकेत पाएपछि सभामुख थापाले सूचना टाँसेर बैठक स्थगित गर्न सचिवालयलाई निर्देशन दिएको बुझिएको छ । प्रदेश सभामा सचिव राम सिंह धामीले सभामुखको निर्देशन अनुसार आइतबारको बैठक सूचना टाँसेर स्थगित गरिएको बताउनुभयो । शुक्रबार बैठक शुरु हुनासाथ प्रतिपक्षी दलले अवरोध गरेकोले स्थगित भएको भएपनि आइतबारको बैठक स्थगित हुनुको कारण आफुले जानकारी नपाएको र सभामुखले बैठक स्थगित गर्न निर्देशन दिएपछि आफुले सूचना टाँसेको उहाँले जानकारी दिनुभयो ।
आइतबार स्थगित भएको बैठक आसार ११ गते बुधबारका लागि आह्वान गरिएको प्रदेश सभा सचिव धामीले जानकारी दिनुभयो । बजेट प्रस्तुत भएपछि लगातार दुई पटक प्रदेश सभाको बैठक स्थगित भएको छ । ११ गते सम्म निकास निस्कने र प्रदेश सभामा बजेट माथि छलफल शुरु हुने अपेक्षा सहित सचिवालयले लामो समय राखेर बैठक आह्वान गरेको छ ।