यी प्रदेशमा ठूलो हावाहुरी र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

यी प्रदेशमा  ठूलो हावाहुरी र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । 

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन विभागले अनुरोध गरेको छ । 

आज बिहान पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

“काठमाडौंमा भने आज वर्षाको सम्भावना छैन । साँझतिर केही बदली हुने भए पनि वर्षाको सम्भावना भने छैन,” मौसमविद् रोजन लामिछानेले भने । 

उनका अनुसार काठमाडौंमा आइतबारसम्म वर्षाको सम्भावना छैन । शनिबार र आइतबार दिउँसो पनि बदली हुने तर वर्षाको सम्भावना भने न्यून रहेको उनी बताउँछन् ।  

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

लुम्बिनी, कर्णाली, गण्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौमविद् लामिछानेको भनाइ छ । “लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशमा समान्यभन्दा ठूलो हावाहुरी चल्ने सम्भावना छ । वाग्मती प्रदेशको तराईका क्षेत्रमा पनि हावाहुरीको सम्भावना छ,” उनी भन्छन्, “समान्यभन्दा ठूलो हावाहुरीको सम्भावना रहेकाले सतर्क हुनुपर्ने अवस्था छ ।” 

पहाडी भू–भागमा पनि हावाहुरीको सम्भावना रहेको तर त्यहाँ तुलनात्मक रूपमा सानो हुने उनी स्पष्ट पार्छन् । दिउँसोदेखि साँझसम्म नै हावाहुरी चल्ने मौसमविद् लामिछाने बताउँछन् ।