एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुँदैछ । आज र भोलि ललितपुरको गोदावरीमा रहेको सनराइज सभाहलमा हुने बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये दुई हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र तीन सय ८१ जना आयोजक छन् । परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । परिषद् बैठकमा यसअघि भएको मिसन ग्रासरुट अभियान, झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको अभियानलगायतका विषय पनि समीक्षा हुने एमालेले जनाएको छ ।

दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमार्फत विगतका कामको विश्लेषण गर्दै भविष्यको मार्गचित्र खाका बनाउने एमालेको तयारी छ । दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ ।